२७ जेठ २०८३, बुधबार

स्थानीय चुनावका लागि काभ्रेमा ३० दल दर्ता

स्थानीय चुनावका लागि काभ्रेमा ३० दल दर्ता

आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख उमेशकुमार राईले बताए ।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । काभ्रेपलाञ्चोकमा दर्ता भएका ३० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररूपमा उठ्नुपर्ने राईले बताए । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।

आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ । 

काभ्रेपलाञ्चोकमा ३ लाख ३ हजार ५६० मतदाता छन् । यसमध्ये १ लाख ५४ हजार १८३ पुरुष, १ लाख ४९ हजार ३७५ महिला र अन्य २ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनका लागि जिल्लामा १८९ मतदानस्थल र ३८१ मतदान केन्द्र व्यवस्थित गर्ने भएको हो । जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका छन् । ३७ हजार ५८१ मतदाता रहेको बनेपा नगरमा २४ मतदानस्थल र ४९ मतदान केन्द्र तोकिएको छ । ३८ हजार १४५ मतदाता रहेको पनौती नगरमा २० मतदानस्थल र ४४ वटा मतदान केन्द्र, २९ हजार ६९७ मतदाता रहेको पाँचखाल नगरमा १८ मतदानस्थल र ३७ मतदान केन्द्र, २५ हजार ५०८ मतदाता रहेको जिल्ला सदरमुकाम धुलिखेल नगरमा तोकिएको १९ वटा मतदानस्थल र ३४ वटा मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

२५ हजार ९५२ मतदाता रहेको नमोबुद्ध नगरमा १६ मतदानस्थल र ३० वटा मतदान केन्द्र, २८ हजार ५३१ मतदाता रहेको मण्डनदेउपुर नगरमा १६ मतदानस्थलमा ३६ मतदान केन्द्र तथा २२ हजार ५४३ मतदाता रहेको रोशी गाउँपालिकामा १४ मतदानस्थल र २८ वटा मतदान केन्द्र, १० हजार ३०९ मतदाता रहेको खानीखोलामा ९ मतदानस्थल र १५ मतदान केन्द्र व्यवस्थित गरिएको जनाइएको छ ।

२० हजार १९१ मतदाता रहेको चौंरी देउरालीमा ११ मतदानस्थल र २४ मतदान केन्द्र, २१ हजार १०८ मतदाता रहेको तेमालमा १२ मतदानस्थल र २७ मतदान केन्द्र, १४ हजार ५५१ मतदाता रहेको बेथानचोकमा ९ मतदानस्थल र १८ मतदान केन्द्र १७ हजार २४ मतदाता रहेको भुम्लुमा १३ मतदानस्थल र २३ मतदान केन्द्र र १२ हजार ४२० मतदाता रहेको महाभारतमा ८ मतदानस्थल र १६ मतदान केन्द्र व्यवस्थित गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्