
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रूपमा सञ्चालन हुने गरी शनिवार रेल सेवा उद्घाटन हुँदैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँदिल्लीबाट संयुक्त रूपमा रेल सेवा उद्घाटन गर्दैछन् ।
रेल उद्घाटन हुनुअघि जनकपुरमा नेपाली रेललाई सजाइएको छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा २ सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको छ ।
पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरू भएसँगै नेपालको रेल यातायात तर्फको अर्को यात्रा शुरू हुनेछ ।
शनिवार रेल गाडीमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रूपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव लगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ ।

उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछिन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए । उनले भने, ‘रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ ।’
शनिवार उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको २ पटक आउने र २ पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काै रेल छुट्ने उनले जानकारी दिए । उनले भने, ‘आइतवारबाट नै नियमित रूपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।’
