
शिवकुमारी चौधरी कपिलवस्तुमा स्नातक तह पढ्दै गाउँकै विद्यालयमा पढाउने गर्थिन् । पढाइलाई पूरा गरेर अध्यापन पेशा अँगाल्ने उनको लक्ष्य थियो ।
छोरीचेलीले उच्च शिक्षा कम पाउने ठाउँमा जन्मेहुर्केकी चौधरीमा जान्ने–बुझ्ने भएदेखि नै शिक्षक बनेर विपन्न क्षेत्रमा शिक्षाको ज्योति छर्ने सपना थियो ।
शिवराज नगरपालिका–१ शिवपुरकी चौधरी शिवपुर माविबाट प्रथम श्रेणीमा एसएलसी पास हुने पहिलो थारू–जनजाति महिला पनि थिइन् । एसएलसी उत्तीर्णलगत्तै १७ वर्षकै उमेरमा एउटै गाउँका युवक राजेन्द्र चौधरीसँग वैवाहिक जीवनमा बाँधिए पनि अध्ययन रोक्नुपर्ने अवस्था थिएन तर देश, काल र समय चौधरीले सोचेजस्तो भएन ।
पढाउन थालेको केही वर्ष मात्र भएको थियो, त्यही बेला मुलुकमा पहिलो स्थानीय तह २०७४ चुनाव घोषणा भयो । सबै राजनीतिक दलमा स्थानीय स्तरमा प्रमुख, उपप्रमुखका लागि टिकट कसलाई दिने भन्ने गाउँनगरमा चर्चा भइरहेको थियो । शिवकुमारीलाई पनि नेकपा एमालेले छलफलमा सहभागी गरायो ।
थारू बाहुल्य नगरमा पढे–लेखेकी भएकाले एमालेले उनै चौधरीलाई शिवराज नगरपालिकाको उपप्रमुखका लागि अगाडि सार्यो । उमेरले भर्खरै २३ टेकेकी शिवकुमारी लोकप्रिय मतका साथ २०७४ सालको स्थानीय तह निर्वाचनमा कपिलवस्तुको शिवराज नगरपालिकामा देशभरबाटै ‘कान्छी उपप्रमुख’ बनिन् । उनी २०७४ असार २० गते उपप्रमुख निर्वाचित भएकी थिइन् ।
निर्वाचित भएपछि उनी एकदमै अन्योलमा थिइन्, आगामी दिनमा कसरी काम गर्ने भनेर । न्यायिक समितिको संयोजक उपपप्रमुख मात्र हुन्छन् भन्ने थाहा थियो तर काम कसरी गर्ने केही ज्ञान थिएन ।
शुरूमा न्यायिक समितिको तालिम लिइन्, आफ्नो अधिकारबारे स्थानीय सरकार सञ्चालन ऐन २०७४ अध्ययन गरिन् । आफ्नो अधिकार बुझिन् अनि त्यहीँ अनुसार काम गर्न थालिन् ।
शिवकुमारी भन्छिन्, ‘पारिवारिक ‘सपोर्ट’ले नगरपालिकालाई शतप्रतिशत समय दिन पाएँ । श्रीमानले घरको काम म गर्छु । खाना पकाउँछु । छोरी हेर्छु । तिमी जनताको सेवामा खट्नुपर्छ भनेर सधैं हौसला दिनुभयो । घरमा पनि समय दिनुपरेको भए नगरपालिकालाई समय दिन सक्दिनथें । कार्यकाल सकिनैलाग्दा धेरै काम गरेजस्तो मैले ठानेकी छु ।’

महिलाको नेतृत्व नपत्याउने नेपाली समाजमा नगर प्रमुख बनेर काम गरी जवाफ दिने उनको धोको छ । चौधरीको बुझाइमा राजनीति समाज परिवर्तन गर्ने माध्यम हो । ‘म निर्वाचित हुँदा यसले के गर्छे होला, यति सानो उमेरकी महिलाले भन्थे, मैले काम गरेर कसैबाट गुनासो आउन दिइनँ । उपप्रमुखले यस्तो गरी भन्ने कहीँ पारिनँ । कामबाट कमजोर ठान्नेलाई जवाफ फर्काएँ,’ उनले भनिन् ।
समावेशिताका नाममा महिलाहरू उपमा मात्र थन्किए । नेतृत्वमा पुग्न त अझै धेरै संघर्ष गर्नुपर्ने अवस्था रहेको उनको बुझाइ छ ।
नगरमा महिला सशक्तीकरण, बालबालिका र महिलालाई सीपमूलक तालिम र विभिन्न कोषहरू स्थापना गर्ने योजना अगाडि सारिन् । नगरका सबै विद्यालयमा निःशुल्क स्यानेटरी प्याड दिने योजना शुरू गरिन् उनले । तराई, मधेशमा बढी हुने बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भइन् उनी ।
न्यायिक समितिमा आउने विवाद र समस्याहरूलाई मिलमिलापमा टुंगो लगाइन् । महिलाहरू घरमै सुत्केरी हुनुपर्ने अवस्था थियो । उनले नै अगाडि सारेको योजनाअनुसार नगरका विभिन्न वडामा ५ वटा वर्थिङ सेन्टर बने । महिलाहरू सुत्केरी हुन बुटवलसम्म धाउनुपर्ने बाध्यता अन्त्य भयो । विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तर सुधारमा नगर केन्द्रित भयो । सामुदायिक विद्यालयको गुणस्तरमा धेरै सुधार भयो ।
नगरपालिकाले कृषि, पशुपालनमा धेरै काम गरेको छ । शिवराजको विकास प्रदेशकै मोडलको रूपमा अगाडि बढेको उपप्रमुख चौधरीको दाबी छ । आफूहरूले अगाडि सारेका प्रतिबद्धताहरू धेरै पूरा भएका उनको भनाइ छ ।
‘५ वर्षमा मैले नगरको विकास कसरी गर्ने भन्ने कुरा सिकें, अब अवसर पाए नगर हाँक्ने गरी मेयर बन्ने इच्छा छ,’ उमेरले भर्खर २८ वर्ष टेक्दै गरेकी उपप्रमुख चौधरीले भनिन्, ‘उपप्रमुख भएर काम गर्दा पनि कसैले गुनासो गर्ने ठाउँ दिइनँ । मेयर बनेर आफूलाई प्रमाणित गर्ने इन्छा छ । प्रमुखको अधिकार क्षेत्र धेरै चौडा भएकाले अब नगर प्रमुखमै उठ्ने हो । हेरौं हाम्रो गौरवशाली पार्टीले मलाई कत्तिको विश्वास गर्छ ?’
नगरपालिकाको प्रमुख एमालेकै नेत्रराज अधिकारी छन् । मेयरले उनलाई कहिल्यै अधिकार र योजनामा हस्तक्षेप गरेनन् । प्रमुखलाई सबैथोक तर उपप्रमुखलाई सहायक ठान्ने आभास उनलाई प्रमुख अधिकारीले कहिल्यै दिएनन् । ‘हाम्रो मेयर सा’प बुझेको हुनुुहुन्छ । योजना, बजेट, सबै विषयमा छलफल गर्दा सबैसँगै रहेर काम गरियो । परिवारजस्तै वातावरणमा काम गरेका छौं । कहिल्यै अप्ठ्यारो, मेयर र उपमेयरबीच वैमनस्यता भएन । मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेन ।’
उपप्रमुखमा निर्वाचित भएपछि कलेजको अपुरो पढाइ पनि उनले पूरा गरिन् । स्नातक तहमा शिक्षातर्फबाट उत्तीर्ण गरिन् । उनका पति राजेन्द्र चौधरी घरपरिवारसँगै कृषिमा लागेका छन् । उनका सुसुरा रामबहादुर थारू तराईका पुराना कम्युनिस्ट नेता हुन् ।
सुसुराको राजनीतिक इतिहासका कारण पार्टीले आफूलाई उपप्रमुखमा अगाडि सारेको चौधरी स्वीकार गर्छिन् । माइतीमा हुँदा राजनीतिमा नलागेकी शिवकुमारी बिहेपछि भने घरको माहोलका कारण राजनीतिप्रति प्रेरित भएकी थिइन् ।
शिवकुमारी ५ हजार ९६२ मत पाएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । आफ्ना निकटतम प्रतिस्पर्धी तत्कालीन संघीय समाजवादी फोरमकी सुमन यादवलाई उनले २ हजार ९३३ मतान्तरले पराजित गरेकी थिइन् । उनको उम्मेदवारी र जीतपछि कान्छी उपप्रमुख भनेर भएको चर्चाले आफूलाई काम गर्न हौसला धेरै प्रदान गरेको सम्झना ५ वर्षपछि पनि उनलाई हिजोजस्तै लाग्छ ।
जनप्रतिनिधि हुनु अगाडि पनि गाउँगाउँमा पुगेर महिला समूह गठन गरी प्रजनन् स्वास्थ्य सल्लाह, महिलालाई आम्दामीको केही रकम बचत गर्न सिकाउने काम गरेकी थिइन् । गाउँगाउँ पुगेर सबैसँग परिचित भएकाले मलाई धेरैले त्यो बेला भोट दिएको उनको बुझाइ छ । शिवराजमा थारू समुदायको बाहुल्य छ ।
‘महिलाहरू घरमा बालबालिकालाई हुर्काउँदै राजनीति गर्न कठिन छ । मेरोजस्तै सबै परिवारले कहाँ सपोर्ट गर्छन र ?’ चौधरीले भनिन् । महिला राजनीतिसँगै जनप्रतिनिधिका लागि परिवारको साथ सधैं हुनुपर्ने उनको बुझाइ छ ।