
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच हैदरावाद हाउसमा केहीबेरमा भेटवार्ता हुँदैछ ।
भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ३ दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रवार नयाँदिल्ली पुगेका हुन् ।
भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल शुरूआत गर्ने कार्यक्रम छ ।
नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।
द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा सहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले शनिवारै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् ।