१० साउन २०८३, आइतबार

हिमालयन हाइड्रो एक्स्पो शुरू, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

हिमालयन हाइड्रो एक्स्पो शुरू, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो शनिवारदेखि काठमाडौंमा शुरू भएको छ । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । समारोहमा राष्ट्रपति भण्डारीले ऊर्जा उत्पादन शुरू भएको शतक बित्दासम्मको अवस्थामा ऊर्जा क्षेत्रमा भएको विकास अपेक्षित रुपमा हुन नसकेको बताइन् । यद्यपि ऊर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 

पछिल्ला वर्षहरूमा ऊर्जा उत्पादनमा आएको बढोत्तरी प्रशंसनीय रहेको बताउँदै राष्ट्रपति भण्डारीले ऊर्जाको आन्तरिक खपत बढाउँदै निर्यातको अवस्थामा पुग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । 

जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकारात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै हरियाली प्रवद्र्धनमा लाग्न उनले आग्रह गरिन् । 

सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यात हुन लागेको भन्दै राष्ट्रपति भण्डारीले खुशी व्यक्त गरिन् । 

जलविद्युत क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । 

एक्स्पोलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युतको विकासका लागि मन्त्रालयले सधैँ पहलकदमी लिइरहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको बताए । नीति नियम तथा उच्च तहका व्यक्तिहरूको बोलाईभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या हुने गरेको भन्दै श्रेष्ठले बोली र नियम अनुसार काम गर्न ध्यानाकर्षण गराए । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यवहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताएका थिए । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिको आयोजनामा शुरू भएको एक्स्पोले ऊर्जा विकासमा अवसरको खोजी गर्ने अपेक्षा गरिएको छ । 

इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्रको लगानीमा नै ऊर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । 

ऊर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले ऊर्जा उत्पादन सम्भाव्यताको झण्डै ५ प्रतिशत मात्र ऊर्जा उत्पादन भएको बताए । 

२०४७ सालको परिवर्तनपछि निजी क्षेत्रले १ हजार ५०० मेगावाट विद्युत उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत खरिद बिक्री सम्झौता हुन नसक्दा प्रवद्र्धकहरु हतोत्साहित बनेको आचार्यको भनाइ छ । 

आगामी ५ वर्षमा निजी क्षेत्रबाट १७ खर्ब लगानी हुने प्रक्षेपण गर्दै आचार्यले नीति नियमका माध्यमबाट सहजीकरण हुनेमा आशावादी रहेको उनले बताए ।

नेपाल भारत ऊर्जा व्यापारमा सक्रिय रुपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इडियन इण्डिष्ट्रिजका डा. भुपेन्द्रकुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

एक्स्पोमा टाइटल स्पन्सर गरेको एनएमबी बैंकले क्लिन इनर्जीलाई प्राथमिकतामा राख्ने भन्दै ९.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधनमा फाइनान्सिङ गर्ने जानकारी एक्स्पोमा दिइएको थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इपान उपाध्यक्ष आशिष गर्गले उक्त विषयलाई उजागर गर्न विद्युतीय सवारी साधनको चाबी अनविल गरेका थिए । 

एक्स्पोको उद्घाटनअघि विद्युतीय सवारी र्‍याली पनि आयोजना गरिएको थियो । 

देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषयवस्तुमा तीनै दिन विभिन्न शत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

शनिवार मात्रै जलविद्युत आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युतको बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफलको आयोजना गरिएको छ ।

फर्पिङ जलविद्युतलाई पर्यटकीय केन्द्र बनाउँछौं- पर्यटनमन्त्री आले

तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सोको महत्वपुर्ण पाटोका रुपमा विद्युतीय सवारी साधनको र्‍याली आयोजना गरिएको छ । 

एक्स्पोस्थल भृकुटीमण्डपबाट शुरू भएको र्‍याली नेपालको पहिलो तथा एशियाको दोस्रो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजनाबाट भृकुटीमण्डप आएस समापन भएको थियो ।

विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारलाई दवाब दिने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा उल्लेख्य संख्यामा विद्युतीय सवारी साधनको उपस्थिति थियो । 

फर्पिङ जलविद्युत आयोजनामा र्‍यालीका सहभागीलाई स्वागत गर्दै पर्यटनमन्त्री प्रेम आलेले उर्जाको आन्तरिक खपतका विषयमा एक्स्पो आयोजकले देखाएको चासो महत्वपुर्ण भएको बताएका थिए । 

एशियाको दोस्रो जलविद्युत आयोजानास्थल फर्पिङलाई जलविद्युतका क्षेत्रमा अनुसन्धान केन्द्र बनाउन तथा पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न पहल गर्ने बताउँदै मन्त्री आलेले योजना पेश गर्न इपानलाई आग्रह गरेका थिए । 

मन्त्री आलेले आगामी आर्थिक वर्षको बजेटमा नै सो काम समेट्नका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने भन्दै योजना र विस्तृत प्रस्ताव पेश गर्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्