१७ असार २०८३, बुधबार

लुम्बिनीका जिल्लाहरूमा टाइफाइडविरुद्धको खोप लगाइने

लुम्बिनीका जिल्लाहरूमा टाइफाइडविरुद्धको खोप लगाइने

टाइफाइडका बिरामीहरू बढ्दै गएपछि लुम्बिनी प्रदेशका जिल्लाहरूमा टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लाका १३ लाख बढीलाई खोप लगाउने तयारी गरेको हो । 

स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९८९ लाई टाइफाइडविरुद्धको खोप लगाइने बताए । उनले यो जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई हुन सक्ने भए पनि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समूहलाई खोप लगाउने काम भइरहेको बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनमा आयोजित टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवातसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो अवसरमा बोल्दै उनले टाइफाइडबाट बच्नको लागि थाइपोइड खोप लगाइएको जानकारी दिए । उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताए ।

चैत २२ गतेदेखि शुरू हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ । 

विद्यार्थीहरूको वार्षिक परीक्षा भएकोले वैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

दुषित पानीको कारणले हुने टाइफाइड अस्पताल भर्ना हुने कारणमध्ये चौथो भएकाले अभियान नै शुरू गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । 

यो अभियान पहिलो पटक चलेको बताउँदै आगामी दिनमा नियमित लगाउन मिल्ने गरी अगाडि बढाइने बताए । 

कमेन्ट गर्नुहोस्