३१ असार २०८३, बुधबार

श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन जारी, प्रशासनद्वारा सङ्कटकालको घोषणा

चैत १९, २०७८
श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन जारी, प्रशासनद्वारा सङ्कटकालको घोषणा

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ ।

आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रोस व्यक्त गर्दै आन्दोलित भएसँगै सरकारले देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको हो । 

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गर्दा सर्वसाधारण र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए । त्यस्तै सरकारको विरोधमा प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ ।

राजधानी कोलोम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निशेधित क्षेत्र घोषणा गरेको बीबीसीले जनाएको छ । सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुकोसमेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन् । अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो ।

आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्