
इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतवारदेखि शुरू भएको छ ।
राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतवारदेखि रमजानको व्रत शुरू भएको जानकारी दिएको छ ।
पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए ।
रमजानमा गरीब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नुपर्छ ।
छिमेकी मित्र राष्ट्र भारतका विभिन्न शहरमा रमजान महिनाको चन्द्रदोदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने जानकारी राष्ट्रिय मदरसा संघ नेपालले दिएको छ ।
राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफी अनुसार नेपालमा कोभिड–१९ महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गरेका छन् ।
पवित्र रमजान महिनामा इबादत गर्नाका साथसाथै आफूले वर्षभरि कमाएको हलाल रुपैयाँमा २.५ पतिशत जकात (दान) दिई गरीब परिवारलाई सहयोग गर्ने संघका महासचिव खाँ नेपालीले बताए ।