
बैतडीको दुर्गम तल्लोस्वराडका २ गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् ।
पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् ।
४ वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ ।
पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्सनले करीब २ करोड रुपैयाँको लागतमा निर्माण गरेको हो । शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको थियो । विक्रम संवत् २०७६ सालमा ठेक्कामार्फत भवन निर्माण थालिएको थियो ।
स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । भवन निर्माणसँगै सेवा सुरु गरिएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए ।
भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।