०३ असार २०८३, बुधबार

लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच बुधवार अध्ययन–अध्यापन सम्बन्धी सम्झौता (एमओयू) भएको छ ।

समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले बुधवार हस्ताक्षर गरे ।

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरू लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएर काम गर्नेछन् । पहिलो चरणमा ३ जना एमडीजीपी विद्यार्थीहरू आउनेछन् भने क्रमशः नर्सिङ, एमडी/एमएस अध्ययन गर्ने विद्यार्थीहरू पनि आउने छन् ।

सम्झौताले बिरामीले सहज र छिटो सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि सुधार हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले बताए । उनले भने, ‘खासगरी शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले छिट्टै पालो पाउने छन् ।’ 

सम्झौतापछि लुम्बिनी प्रादेशिक अस्पताल शैक्षिक गतिविधिमा आवद्ध हुने र चिकित्सकलाई प्रक्रिया पुर्‍याएर शिक्षक बनाउन सकिने ढकालले बताए । कर्णालीबाट आउने विद्यार्थीलाई लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क आवास सुविधा उपलब्ध गराउने छ ।

कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १ दशकको अवधिमै अब्बल सावित भएको उल्लेख गर्दै अन्य प्रदेशका अस्पतालसँग पनि यस्तै सम्झौता गर्न सुझाव दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले प्रतिष्ठानमा बिरामीको चाप कम हुने तर विद्यार्थी धेरै भएकाले बिरामीको चाप धेरै भएको लुम्बिनी प्रादेशिक अस्पतालसँग सहकार्य गरेको बताए ।

भविष्यमा प्रतिष्ठानमा अध्यापन हुने ९ वटै विषयका विद्यार्थी पठाउने डा. थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्