
आसन्न स्थानीय तह निर्वाचनमा पाल्पामा ५ दलीय गठबन्धन हुने भएको छ ।
केन्द्रीय गठबन्धनलाई निरन्तरता दिने निर्णय अनुरूप जिल्लामा समेत ५ दलीय गठबन्धन गर्ने सहमति भएको हो ।
जिल्लामा बसेको गठबन्धन दलहरूको संयुक्त बैठकले वैशाख ३० गते हुने निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच गठबन्धन हुने नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले बताए ।
बुधवार बसेको ५ दलीय गठबन्धनको संयुक्त बैठकमा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान रानाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
