
जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लागेका छन् । अध्यक्ष एंगुलो आज आउन लागेका हुन् भने उपाध्यक्ष जैन शुक्रबार आउने बताइएको छ । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुन् ।
अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए ।
नेपालमा रहँदा उनीले नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायतका जेसीजका कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अठारदेखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विसं २०२१ असोज २ गते भएको हो । अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्षपछि डा भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो ।
नेपालमा अहिले जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ ।