म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ ।
रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो ।
थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजार रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो ।
सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख रुपैयाँ र गाउँपालिकाको ३३ लाख ५० हजार रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए ।
सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न ५ घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।
स्थानीयलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । ‘सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ,’ छन्त्यालले भने । सडक स्तरोन्नतिपछि सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिने छ ।
सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गरे ।
कार्यक्रममा सडक विस्तार गर्न १२ लाख ६० हजार रुपैयाँ सहयोग गरेका गाउँपालिका अध्यक्ष भण्डारी, ४ लाख ५० हजार सहयोग गरेका चित्रमान छन्त्याल र ३ लाख ५० हजार सहयोग गरेका थमबहादुर छन्त्याललाई स्थानीयले सम्मान गरेका थिए ।