
राप्रपा नेपालसँगै परिवार दल पनि नेकपा एमालेको सूर्य चिह्न लिएर स्थानीय तहको चुनाव लड्ने भएको छ ।
नेकपा एमाले र परिवार दलबीच वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई दलका तर्फबाट चुनावी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
परिवार दलले आफ्ना उम्मेदवार नभएको ठाउँमा एमालेलाई मत दिने भएको छ । दुई वटा संविधान सभामा समानुपातिक तर्फबाट एक सीट जितेको परिवार दलले पछिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक सीट पनि जित्न सकेको थिएन । 