
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले अमेरिका तथा पश्चिमाहरूको प्रभुत्व ढाल्नका लागि आफूहरूले युक्रेनमा विशेष सैन्य कारवाही चलाएको बताएका छन् ।
पश्चिमले त्यस्तो प्रभुत्व अन्तर्राष्ट्रिय कानूनको जघन्य उल्लंघनमार्फत कायम गरेको लाभरोभको भनाइ छ ।
उनले बताए, ‘कुनै जनमतसंग्रह नगरिकन कोसोभोको स्वतन्त्रतालाई मान्यता दिइयो तर क्राइमियाको स्वतन्त्रता जनमतसंग्रहमार्फत गरिएको भए पनि त्यसलाई मान्यता दिइएन । क्राइमिया जनमतसंग्रहलाई सयौं तटस्थ विदेशी प्रतिनिधिहरूले पर्यवेक्षण गरेर निष्पक्ष भनेका थिए ।’
अमेरिकाले बारम्बार अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको पनि लाभरोभले स्मरण गराए ।
उनले भने, ‘आफ्नो भूमिबाट हजारौं किलोमिटर टाढा रहेको इराकबाट राष्ट्रिय सुरक्षालाई खतरा पुगेको भनी अमेरिकाले बम हानेर ध्वस्त बनायो । तर त्यहाँ कुनै जोखिम रहेनछ भन्ने पत्ता लागेपछि उसले माफी समेत मागेन ।’