२८ जेठ २०८३, बिहीबार

महिला प्रहरी उर्मिला हत्या प्रकरण : १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

चैत ३०, २०७८
महिला प्रहरी उर्मिला हत्या प्रकरण : १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

गत चैत्र ६ गते आफ्नै विद्यार्थीमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपपछि भएको हिंसात्मक झडपमा मारिएकी महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या आरोपमा १५ जनाविरुद्ध बुधवार कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

पक्राउ परेका ६२ मध्ये १५ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले जन्मकैदको माग दाबी लिएर मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा कान्छा भनिने कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोष कुँवर, राजकुमार भन्ने कुमारबहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखाबहादुर मगरलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा १० जना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ । भविन भन्ने जस्विन तामाङ, श्रवण यादव, अर्पण परियार, रामकुमार राई, अमृत खेवा लिम्बु, रुपेश राना मगर, सुरज अधिकारी, चन्द्र तामाङ, पासाङ तामाङ र रूपेश खड्का भन्ने प्रलात खड्काको दाबी नपुगेको भन्दै उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा अभियोग नचलाउने निर्णय गरिएको अभियोग पत्रमा उल्लेख छ ।

कर्तव्य ज्यानमा मुद्दा नचलाएका प्रतिवादीलाई अभद्र व्यवहारको मुद्दामा प्रतिवादी बनाइएको छ । 

कर्तव्य ज्यानमा मुद्दा नचलाएकासहित घटनामा पक्राउ परेकामध्ये ५१ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ । अभद्रमा ५१ मध्ये १५ जना नाबालक छन् । नाबालकको हकमा मोरङ अदालतको बाल इजलासबाट आदेश हुन्छ भने उमेर पुगेका ३६ जनाको जिल्ला प्रशासन कार्यालय मोरङबाट आदेश हुनेछ ।

नाबालक १५ जना प्रतिवादीको मंगलवारदेखि शिशिरराज ढकालको इजालसमा बयान शुरू भएको छ । बुधवारसम्म १० जना प्रतिवादीको बयान सकिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । बाँकी रहेका ५ जनाको आइतवारसम्म सुनुवाइ हुने उनले बताए ।  

घटनामा १ जना बालकलाई कर्तव्य ज्यान मुद्दामा दर्ता गरिएको थियो । मंगलवार थुनछेक बहसपछि अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । 

लेटाङ–५ का शिक्षक मनोज पौडेलले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भएको हिंसात्मक आन्दोलनमा महिला प्रहरी जवान २६ वर्षीया श्रेष्ठको हत्या भएको थियो । शिक्षक पौडेललाई पक्राउ गरेर फर्कंदै गरेको प्रहरी टोलीमाथि आक्रमण हुँदा श्रेष्ठ मारिएकी थिइन् । 

घाँटीमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको दाबी प्रहरीको थियो तर विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टले श्रेष्ठको हत्या गोली प्रहारबाट भएको पुष्टि गरेको छ । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘फायर आम इन्जुरी’ लेखिएको छ ।

हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो तर महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारसँग नमिलेको बताइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान गर्ने समय सकिएका कारण सरकारी वकिल कार्यालयमा अनुसन्धानको मिसिल बुझाइएको जानकारी दिए । अझै पनि घटनाको अनुसन्धानलाई भने जारी राखिएको उनको भनाइ छ । हतियार र गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेपछि पूरक अभियोग लैजाने प्रहरीको तयारी छ ।

प्रहरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई ध्यान दिँदा महिला प्रहरीको ज्यान गएको स्थानीयको आरोप रहेको छ । मोरङको सुन्दरहरैचामा चैत्र ७ गते देउवा आउने कार्यक्रम रहेको थियो । देउवाको शान्ति सुरक्षालाई मोरङका एसपी जनार्दन जिसीले प्राथमिकता दिएका थिए । लेटाङमा दिउँसो १ बजेदेखि आन्दोलन भए पनि उनले साँझ ५ बजेसम्म जिल्ला सदरमुकामबाट प्रहरी पठाउन सकेका थिएनन् । ७ बजेतिर मात्रै जिल्ला तथा प्रदेशबाट प्रहरीको टोली घटनास्थलमा पुगेको स्थानीयको भनाइ छ । हत्या भएकी श्रेष्ठ परिवारकी एक्ली छोरी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्