
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । आज नयाँ वर्ष २०७९ सालको शुभारम्भ अर्थात वैशाख १ गते । आजको यस विशेष दिनमा पाठकवृन्दलाई नयाँ वर्षको शुभकामनासहित हामी बितेका २४ घण्टाका प्रमुख समाचार लिएर उपस्थित भएका छौँ–
००००
सत्ता गठबन्धन एक भएर चुनावमा जाँदै गर्दा प्रतिपक्षी दल एमालेले पनि गठबन्धन बनाउन थालेको छ । एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेलका लागि सहमति गरेको छ । सहमतिअनुसार दुबै दल एमालेको सूर्य चिह्नबाट चुनाव लड्नेछन् भने एकअर्कालाई सहयोग गरेर अघि बढ्नेछन् । एमालेले लोकतान्त्रिक समाजवादी पार्टीलगायतसँग पनि तालमेलका लागि छलफल गरिरहेको बताइएको छ ।
यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेलाई धन्यवाद दिएका छन् । नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएको भन्दै उनले एमालेलाई धन्यवाद भएका हुन् ।
‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा ९एमाले०सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उमेदवार नभएको स्थानमा पनि मतपत्रमा सबै पार्टीको चिन्ह रहने भएकाले मतपत्र बदर हुनबाट रोक्न एकै चिह्न लिने सहमति गरेको उनको भनाइ छ । बुधबार कमल थापाको राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेलसम्बन्धी ५ बुँदे सहमति भएको थियो । परिवार दलसँग पनि सोही व्यहोराको सहमति भएको थियो ।
००००
जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाबाट निर्वाचित भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमालेमा प्रवेश गरेका हुन् । चुनावको मुखमा दल अदलबदल चलिरहेको छ ।
००००
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए ।
मस्यौदाउपर बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी वैशाख २ गतेभित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरेर तयारी समितिले अन्तिम रूप दिने गरी पारित गरिएको छ ।
००००
नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले रिक्त रहेको डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।
००००
सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको उक्त आदेशसँगै जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने भएको छ ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले छिमेकी राष्ट्रहरूसँग अवलम्बन गर्नुपर्ने नीतिप्रति सधैँ चनाखो हुनुपर्ने बताएका छन् ।
बुधवार नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रियता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ ।’
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गतेको चुनाव सार्न नेकपाले गरेको आग्रह अस्वीकार गरेका छन् । वैशाख ३० गतेको चुनावको लागि तयारी धेरै अगाडि बढिसकेको भन्दै देउवाले चुनाव सार्न नसकिने बताएका हुन् ।
चुनावमा सहभागी हुने वातावरण बनाइदिन भन्दै प्रधानमन्त्री निवास बालुवाटार गएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बुधवार देउवाले चुनाव सार्न नसकिने बताएका हुन् । देउवाले स्वतन्त्र ढंगले चुनावमा सहभागी हुन सुझाव दिएको स्रोतले जानकारी दियो ।
००००
पछिल्लो २४ घण्टामा १९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७१५ नमूना परीक्षणमध्ये १९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार थप ४९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ५२० सक्रिय संक्रमित छन् ।
००००
शेयर बजार मापक सूचक बुधवार ३०२४ अंकले बढेको छ । आज नेप्से परिसूचक १२७ प्रतिशतले बढेर २४१५२४ बिन्दुमा पुगेको छ ।
बुधवार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयरको २८ हजार ९४५ पटक कारोबार भएको छ । यसबाट एक अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त नभएको स्पष्ट पारेका छन् ।
ओली नेतृत्वको सरकारका कारण अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था समेत ठीक नभएको उनले बताए ।
विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गर्दा नै अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त पारेको समेत आरोप लगाए । अहिलेको सरकारले पहिलेको सरकारका कारण यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज भएको उनले बताए ।
००००
राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनको घोषणा पत्र–२०७९ सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधवार बुटवलमा घोषणापत्र सार्वजनिक गरे ।
००००
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआईजी केसीलाई बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । उनले बुधबारनै कार्यभार पनि सम्हालेका छन् ।