१३ असार २०८३, शनिबार

एक क्विन्टलभन्दा बढी गाँजासहित भ्यान नियन्त्रणमा, चालक फरार

एक क्विन्टलभन्दा बढी गाँजासहित भ्यान नियन्त्रणमा, चालक फरार
फाइल तस्वीर

विराटनगर । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा लागूऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भ्यानभित्र तस्करी हुन लागेको ठूलो परिणाममा लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को१च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार निलो त्रिपालले छोपेको पिकअपभित्र गाँजा र अदुवा फेला परेको हो ।

गाडी भित्र तीन वटा सेतो बोरामा प्याकिङ गरिएको अवस्थामा गाँजा, अदुवा र ६ पोका ४५ केजी धानको भुस समेत बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । 

बोराभित्र हालेर सबैभन्दा तल गाँजा र अदुवा राख्दै माथिबाट धानको भुसले छोपेको अवस्थामा पिकअपलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । तस्करी गरेर गाँजा र अदुवा भारततिर लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 

नेपालबाट भारततिर जाँदै गरेको पिकअपलाई प्रहरीले राति १० बजे चेकजाँच गर्न खोज्दा चालक भने गाडी छाडेर फरार भएका छन् । 

फरार चालकको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ । 

नेपालबाट लागुऔषध गाँजा लुकाईछिपाई भारततिर तस्करी हुने गरेको छ । 

नेपालमा भन्दा महँगो मूल्य पर्ने भएपछि गाँजा भारततिर तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।
 

कमेन्ट गर्नुहोस्