०४ साउन २०८३, सोमबार

बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि २४ हजारको विवरण संकलन

बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि २४ हजारको विवरण संकलन

बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो हप्तादेखि शुरू भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य हाल वडास्तरबाटै भइरहेको छ । 

हाल अभियानकै रूपमा वडास्तरमा परिचयपत्र विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण संकलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण संकलनको कार्यसम्पन्न भएको छ । डिलाशैनीमा ८ हजार ३९६ र सिगासमा ७ हजार २०६ जनाको विवरण संकलन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए ।

उनले भने, ‘परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ, सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागी भएका छन् ।’

हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा अभियान शुरू भएको छ । दोगडाकेदारमा २३४ र पुर्चौडीमा ७३५ जनाको विवरण संकलन भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ८५९ जनाको विवरण संकलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ छ ।

विवरण संकलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण संकलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्