
मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठ विभूषित भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरिन् ।
मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।
मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।
यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् ।
३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।
भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर शुरू गरेकी श्रेष्ठले त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।