२१ जेठ २०८३, बिहीबार

राष्ट्रपति भण्डारीबाट पूर्व प्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

राष्ट्रपति भण्डारीबाट पूर्व प्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन, एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरेकी छन् ।

नेपाल स्काउटद्वारा बिहीवार आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो ।

प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई पदक प्रदान गरिएको हो । 

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्व प्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ले गौरव प्रदान गर्ने बताइन् ।

उनले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाई विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गरिन् ।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र संगठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए । स्काउटलाई अप्ठ्यारोका साथीका रूपमा उनले चित्रण गरिन् । समारोहमा विश्व स्काउट संगठन, एसिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशक लगायत विदेशी पाहुनाको सहभागिता थियो ।

सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा. गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानूनी व्यवस्था गरेको छ । 

प्रधानमन्त्रीकै रूपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम शुरू गराएका थिए । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्