२१ जेठ २०८३, बिहीबार
युद्धको त्रासदी

युरोपमा युद्धको त्रासदी र क्युबाका 'सेतो कोटधारी सेना'को चर्चा

युरोपमा युद्धको त्रासदी र क्युबाका 'सेतो कोटधारी सेना'को चर्चा
प्रतीकात्मक तस्वीरमा युक्रेनको दृश्य । Photo: Reuters

अमेरिकाले सन् २००३ मा इराकविरुद्ध अवैध युद्ध शुरू गर्दा क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोले अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा सम्बोधन गरेका थिए । उनले भनेका थिए, ‘हाम्रो मुलुक अरू मानिसमाथि बम खसाउँदैन अनि हजारौं बम पठाएर शहरहरू पनि ध्वस्त पार्दैन । हाम्रो मुलुकका हजारौं वैज्ञानिक र चिकित्सकहरू जीवन बचाउने सोचका साथ शिक्षित भएका छन् ।’

क्युबासँग सेना थियो तर त्यो सेना युद्धका लागि उपयोग गरिएन । कास्ट्रोले त्यसलाई ‘सेतो कोट लगाउने सेना’ भने । उनको संकेत चिकित्सकहरूतर्फ थियो । हालैका दिनमा क्युबाको हेनरी रीभ ब्रिगेडका स्वास्थ्यकर्मीहरूले कोभिड–१९ महामारी फैलिन नदिन संसारभरि निःस्वार्थ भावका साथ काम गरिरहेका छन् । 

यस संसारमा बाँच्नका लागि दुईवटा तरिका रहेको कास्ट्रो स्मरण गराउँछन् । हामी हतियारले भरिएको तथा डरत्रासले थिचिएको युद्धग्रस्त संसारमा बाँच्न सक्छौं । त्यस्तो संसारले जतिखेर पनि युद्धको तयारी गर्छ । 

वा यसको साटो हामी शिक्षक, चिकित्सक, वैज्ञानिक,  सामाजिक कार्यकर्ता, कथावचाक र गायकहरूको संसारमा बाँच्न सक्छौं । हामी अहिले बाँचिरहेको भन्दा थप राम्रो संसार बनाउनका लागि योगदान गर्ने मानिसमा विश्वास गर्न सक्छौं । अहिलेको संसार युद्ध र नाफाको संसार हो जहाँ कुरूपताले हामीलाई छोप्न खोजिरहेको छ ।

नयाँ फलामे पर्दा (आइरन कर्टन अर्थात् खेमामा विभाजित विश्व) निर्माण गरिँदैछ भन्ने डरले हाम्रा रौं ठाडा हुन थालेका छन् । चीन र रुसलाई ठिँगुर्‍याउने र संसारलाई विभिन्न खेमामा बाँड्ने दबाब उच्च छ । तर त्यसो गर्न सम्भव छैन किनकि हामी विरोधाभासको जञ्जालमा छौं, सुनिश्चितताको सरल संसारमा हामी बाँचिरहेका छैनौं ।

अमेरिकाका निकट साझेदार अस्ट्रेलिया, जर्मनी, जापान र भारतले पनि रुस र चीनसँगको आर्थिक तथा राजनीतिक सम्बन्ध तोड्न सक्दैनन् । त्यसरी सम्बन्ध तोड्दा ती देशहरू आर्थिक मन्दीमा फस्नेछन् । त्यस्तो अवस्थामा आउने आर्थिक अव्यवस्थाको परिणाम युद्ध तथा नाकाबन्दीको मारमा परेका मुलुकहरू होन्डुरस, पाकिस्तान, पेरु र श्रीलंकामा देखिएको जस्तो हुनेछ । यी मुलुकहरू अन्तर्राष्ट्रिय मुद्रा कोष, देशका सम्भ्रान्त तथा विदेशी दूतावासको लोभका कारण अस्तव्यस्त भएका छन् । इन्धनको मूल्य बढिरहेका कारण आर्थिक संकट राजनीतिक संकटमा परिणत भइरहेको छ । 

युद्धहरू कुनै पनि मुलुकको राजनीतिक संस्था तथा सामाजिक क्षमतालाई ध्वस्त बनाएर अन्त्य हुन्छन् वा युद्धविराम र सम्झौतामा गएर टुंगिन्छन् । नेटोले सन् २०११ मा लिबियाविरुद्ध चलाएको युद्धका कारण त्यो देश बारुदको गन्ध तथा भत्किएको सामाजिक व्यवस्थासँगै धर्मराउन पुगेको छ । 

लिबियाले भोगेको नियति युक्रेन वा अरू कसैले पनि भोग्नु हुँदैन । तर अफगानिस्तान, सोमालिया र यमनका मानिसको नियति नै यस्तो रहेछ । पश्चिमले भड्काएको, हातहतियारले सुसज्जित पारेको र पश्चिमलाई फाइदा पुर्‍याउने युद्धका कारण ती देशहरू तहसनहस भएका छन् । 

समकालीन रुस सोभियत संघको पतनपछि उदाउँदै गर्दा बोरिस येल्तसिनले रुसी संसद् विरुद्ध कू गरी संसद् भवनमा ट्यांक पठाएका थिए । यस्तो हिंस्रक शुरूआत तथा अन्य युद्धग्रस्त मुलुकको अनुभवलाई विचार गरी रुसमा अहिले सत्ता चलाइरहेकाहरूले गतिविधि सञ्चालन गर्ने गरेका छन् । उनीहरू आफूलाई लिबिया, यमन वा अफगानिस्तानको जस्तो नियति बेहोर्न नलिन सचेत छन् । 

अमेरिका द्वन्द्वमा विजयी हुन तयार छ भन्नु नै यहाँ महत्त्वपूर्ण शब्दावली हो । आफ्नो प्रभुत्व र अरूको पराजय मानवताविरुद्धको दृष्टिकोण हो । युरेसियामा अमेरिकाले लादेको दबाबमूलक अभियान अन्त्य हुनैपर्छ ।

रुस र युक्रेनबीचको वार्तामा कुनै प्रगति भएको छैन । युद्धविरामलाई वास्तविक बनाउने हो भने दुई पक्षबीच विश्वासको वातावरण बन्नु जरूरी छ । यो युद्धविराम युक्रेनमा भइरहेको युद्धमा मात्र सीमित रहनुहुँदैन । यसले युरेसियाली क्षेत्रमा अमेरिकाले चलाइरहेको दबाबमूलक अभियानलाई पनि रोक्नुपर्छ । 

त्यस्तो दबाबमूलक अभियान के हो र अहिले आएर किन यसको बारेमा कुरा गर्नुपरेको हो ? ‘युक्रेनबाट रुस बाहिरियोस्’ भने पुग्दैन ? यस्तो नारा सही भए पनि यसले यो युद्ध भड्काउनका लागि जिम्मेवार गहिरो समस्यालाई सम्बोधन गर्दैन ।

सोभियत संघ पतन भएपछि पश्चिमी मुलुकहरूले बोरिस येल्तसिन र पछि भ्लादिमिर पुटिनमार्फत आफ्नो स्रोत र शक्ति उपयोग गरेका थिए । 

शुरूमा पश्चिमले रुसको सामाजिक सुरक्षालाई ध्वस्त पारेर तथा सम्भ्रान्त रुसीहरूलाई देशको सामाजिक सम्पत्ति हडप्न अनुमति दिएर रुसी जनतालाई गरीब बनाएको थियो । त्यसपछि उनीहरूले रुसका नवधनाढ्यहरूलाई पश्चिमी नेतृत्वको विश्वव्यापीकरणमा लगानी गर्न लगाए ।

येल्तसिनले चेचेन्यामा चलाएको हिंस्रक युद्ध र पुटिनले त्यही ठाउँमा चलाएको युद्धलाई पश्चिमले समर्थन गरेको थियो । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले रुसलाई ठूलो संख्यामा बेलायती हतियार बेचेका थिए । उनले सन् २००० मा पुटिनलाई लन्डनमा बोलाएर भनेका थिए, ‘रुस र पश्चिमले मिलेर स्थिरता तथा शान्ति प्रवर्धन गर्नुपर्छ ।’

सन् २००१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले पुटिनको आँखामा हेरेर उनको आत्मा देखेको बताएका थिए । बुशले पुटिनलाई ‘इमान्दार र विश्वासयोग्य’ भनेका थिए । त्यही वर्ष द न्युयोर्क टाइम्सका टमस फ्रीडम्यानले पाठकहरूलाई ‘पुटिनको समर्थन गरिरहन’ भनेका थिए । पश्चिमले नै रुसका अर्बपतिहरूलाई राज्य कब्जा गर्न र रुसी समाजको दमन गर्न सहयोग गरेको थियो । 

रुस सरकारले युरोप र अमेरिकासँगको एकता सम्भव नरहेको निर्णय लिएपछि चाहिँ पश्चिमले पुटिनलाई दानवका रूपमा वर्णन गर्न थालेको हो । यस्तो कुरा पहिलापहिला पनि हुने गरेका थिए । इराकका सद्दाम हुसेन अमेरिकाको आँखामा महान् नायक थिए अनि पछि खलनायक बने । पनामाका म्यानुअल एन्टोनियो नोरिएगाको पनि हालत त्यस्तै भयो । अहिले त्यसभन्दा बढी खतरनाक स्थिति छ । 

अहिलेको संकट निम्तिनुमा अमेरिकाको हात छ । अमेरिकाले अन्तर्राष्ट्रिय हतियार नियन्त्रण संरचनालाई एकपक्षीय रूपमा भत्काउँदै एन्टी–ब्यालिस्टिक क्षेप्यास्त्र ट्रीटी र इन्टरमिडिएट–रेन्ज न्युक्लीयर फोर्सेस (आईएनएफ) बाट हात झिकेको थियो । यसले निवारणको नीतिलाई तहसनहस बनायो । सन् २०१८ को डिसेम्बर महिनामा अमेरिकाले आफ्ना साझेदारहरूलाई आईएनएफको प्रतिरक्षा गर्ने राष्ट्रसंघीय साधारणसभाको प्रस्ताव पारित गर्न रोक लगाएको थियो । 

त्यसपछि पुटिनले सुरक्षा प्रत्याभूतिको आवश्यकता औंल्याउन थाले । युक्रेन वा नेटोबाट नभई सिधै अमेरिकाबाट रुसलाई सुरक्षा प्रत्याभूति आवश्यक रहेको पुटिनले बताएका थिए । 

किन ? किनकि सन् २०१८ मा अमेरिकी सरकारले परराष्ट्रनीतिमा परिवर्तन गर्दै चीन र रुससँगको प्रतिस्पर्धा बढाउने घोषणा गरेको थियो । 

त्यसपछि रुस र चीनको सीमा नजिक नेटोको नेतृत्वमा गरिएको जलसैन्य अभ्यासले पनि रुसलाई आफ्नो सुरक्षाका विषयमा चिन्तित तुल्यायो । अमेरिकाको आक्रामकता सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा पनि विद्यमान छ । त्यसमा स्पष्ट लेखिएको छ, ‘अमेरिका आवश्यकता परेमा जुनसुकै द्वन्द्वमा पनि विजयी हुन तयार छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको चुनौतीलाई प्राथमिकता दिइएको छ अनि युरोपमा रुसी चुनौतीलाई पनि प्राथमिकतामा राखिएको छ ।’

अमेरिका द्वन्द्वमा विजयी हुन तयार छ भन्नु नै यहाँ महत्त्वपूर्ण शब्दावली हो । आफ्नो प्रभुत्व र अरूको पराजय मानवताविरुद्धको दृष्टिकोण हो । युरेसियामा अमेरिकाले लादेको दबाबमूलक अभियान अन्त्य हुनैपर्छ ।

हामीलाई विभाजित संसार चाहिएको छैन । हामी यथार्थपरक संसार चाहन्छौं । जलवायु परिवर्तनले निम्त्याएको विनाशलाई व्यवस्थापन गर्ने मानवीय संसार हामीलाई चाहिएको छ । भोक र अशिक्षालाई अन्त्य गर्ने संसार चाहिएको छ । हामीलाई निराशाबाट आशाको बाटोमा डोहोर्‍याउने संसार चाहिएको छ । बन्दूक बोकेका सेनाको साटो सेतो कोट लगाएका सेना भएको संसार चाहिएको छ ।

ट्राइकन्टिनेन्टल डट् ओआरजीमा प्रकाशित विजय प्रसादको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्