
झापाको बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईं एक कार्यक्रमका लागि यसै साता विराटनगर आइपुगेकी थिइन् ।
भावी मेयरको उम्मेदवारका लागि नेकपा एमालेभित्र आन्तरिक मत विभाजन हुँदा सबैभन्दा बढी मत ल्याएर चर्चामा रहेकी प्रसाईंसँग हामीले केही कुराकानी गर्ने मौका प्राप्त गर्यौं ।
मेयरको उम्मेदवार बन्न चाहने आकांक्षी धेरै भएपछि एमालेले हालै आन्तरिक मत विभाजन गरेको थियो । प्रसाईंले सबैभन्दा बढी मत ल्याउँदा एकराज कार्की दोस्रो र नगेन्द्र संग्रौला तेस्रो भए । कार्की एक नम्बर प्रदेशका प्रदेश सांसद हुन् ।
प्रसाईंले आफूले ल्याएको मतबारे खुलाउन चाहिनन् । पार्टीको आन्तरिक विषय भएकाले बाहिर ल्याउनु गलत हुने उनको तर्क थियो ।
प्रसाईंलाई अहिले धेरैले भावी मेयरको उम्मेदवारका रूपमा चर्चा गरिरहेका छन् । तर उनी स्वयं भने त्यति आशावादी देखिइनन् ।
‘झापाकै कमल गाउँपालिकाले प्रदेशभित्रकै पहिलो महिला अध्यक्ष पाएको थियो, अब बिर्तामोडले पनि महिला प्रमुख पाउने भयो हैन ?’ भन्ने प्रश्नमा उनले आशावादी जवाफ दिइनन् ।
आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा धेरै मत ल्याए पनि प्रसाईं टिकट पाउनेमा भने ढुक्क छैनन् ।
पाँच वर्षको अनुभवले मेयर चलाउन सक्ने क्षमता बनाएपनि महिला भएकै कारण टिकट पाउनेमा आशंका रहेको उनको भनाइ थियो ।
‘हामीले चुनाव जितेर आउँदा बस्ने ठाउँ मात्रै थियो, कानून समेत थिएन,’ उनले भनिन्, ‘स्रोत साधन तथा विभिन्न समस्याका बीच काम गरेर देखाए पनि त्यसको मूल्यांकन नहुने रहेछ ।’
संविधानले बाध्यकारी व्यवस्था गरेको भन्दा ठूलो पदमा उठ्न संघर्ष गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘विभिन्न खालका हत्कन्डा मच्चाएर भए पनि महिलाहरूलाई पाटीभित्रै निरुत्साहित गर्ने खेल हुने रहेछ,’ उनले निराश हुँदै भनिन् ।
जनतामा जति नै लोकप्रिय भएर काम गरे पनि आफ्नै घरकाले समेत विश्वास नगरेसम्म महिलाहरू नेतृत्वमा आउन गाह्रो हुने उनको भनाइ छ ।
नेकपा एमाले झापाले स्थानीय तहका उम्मेदवार सिफारिशका लागि सर्वसम्मति नभएको पालिकामा आन्तरिक मत विभाजन गरेको थियो । झापाका ९ वटा पालिकामा उम्मेदवार सिफारिशका लागि संगठित सदस्यहरूबाट गराइएको थियो ।
एमालेले झापामा पार्टी विभाजनको नरहेको दाबी गर्दै आएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा विवाद कम देखाउनका लागि मतदान गरिएको एमालेकै जिल्लास्तरका नेताहरू बताउँछन् ।
मेचीनगर, बुद्ध शान्ति, भद्रपुर, बिर्तामोड, कन्काई, झापा गाउँपालिका, शिवसताक्षी, कमल र बाह्रदशीमा उम्मेदवार सिफारिशका लागि आन्तरिक चुनाव गरिएको थियो ।
अन्य ६ पालिकामा सहमतिकै आधारमा उम्मेदवार सिफारिश गरिएको छ ।
आन्तरिक चुनावको परिणामले मात्र उम्मेदवार निश्चित नहुने एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए । पार्टीले विभिन्न सूचक बनाएर उम्मेदवार छनोट गर्दै आएकोमा एउटा सूचक निर्वाचन भएको र अन्य चार सूचक पूरा गर्नेले टिकट पाउने कार्कीको भनाइ रहेको छ ।
‘मतदानले मात्रै हुँदैन, जनताबीच लोकप्रिय पनि हुनुपर्छ,’ उनले भने ‘सिफारिश भएर आएको उम्मेदवारको अवस्था के छ भनेर बुझ्ने कोशिश गरिरहेका छौं ।’
जिल्ला अध्यक्ष कार्कीको भनाइअनुसार पनि प्रसाईंले टिकट पाउने सम्भावना ज्यादै न्यून छ । दोस्रो मत ल्याएका कार्की स्थायी कमिटी सदस्य हिक्मत कार्कीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्मका विश्वास पात्रका रूपमा चिनिन्छन् ।
यस्तो पीडा भोग्ने प्रसाईं एक्ली महिला नेतृ हैनन्, ओखलढुंगाको सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा कुमारी तामाङले पनि अध्यक्षको टिकट लिन पाटीभित्रै संघर्ष गरिरहेको बताइन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
‘कसैले पनि गर्भमै राजनीति सिकेर आएको हुँदैन,’ उनले भनिन्, ‘अहिले पनि महिलाहरू काम गर्न जान्दैनन् भनेर छेक्ने गरिन्छ । अध्यक्ष भएर काम गर्ने क्षमता भए पनि टिकट नै नदिने खेलमा नेताहरू लाग्न थालेका छन् ।’
उनले थपिन्, ‘सहज परिस्थिति भएको ठाउँमा महिला किन चाहियो भन्छन्, र खबर गर्दैनन्, असहज भएको ठाउँमा मात्रै महिलाको खोजी गरिन्छ ।’
निर्णायक तहमा पुरुष नै भएका कारण महिलाले अवसर पाउन मुस्किल रहेको उनको दुखोसो छ । सुनकोशीमा १४ जना पुरुष आकांक्षी छन्, महिलाबाट उनी एक्ली आकांक्षी हुन् । जनताको माग र ५ वर्षसम्म गरेको कामका हिसाबले पनि आफूले अध्यक्षको टिकट पाउनुपर्ने उनको माग छ ।
राष्ट्रिय सभा सदस्य समेत रहेकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय उपाध्यक्ष जयन्ती राई भने पहिलाभन्दा केही सुधार भएको बताउँछिन् ।
‘पहिले महिलाहरू बोल्न जान्दैनन्, चुलाचौकामा मात्रै काम गर्नुपर्छ भन्ने थियो, अहिले त्यो अन्त्य भएको छ,’ उनले भनिन् ।
आउँदो स्थानीय तह चुनावमा महिलालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । नेतृत्व गर्न महिला सक्षम रहेको उनको दाबी छ ।