
कोरानाको कहरमा श्रीमान् गुमाउँदा गुमाउँदै पनि निरन्तर बिरामीको सेवामा खटिएकी कालीकोटकी नर्स सुनिता सहकारी वैशाख १ गते जनसेवा सेवा श्री पदकबाट विभूषित भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुँदै गर्दा सहकारीको मुहारमा जुन खुशी छाउनुपर्ने हो त्यो खुशी भने छाएको छैन ।
कारण– त्यही सेवाबाट उनले महामारीका बेला हात धुनुपरेको थियो ।
अघिल्लो वर्ष कोरानाबाट श्रीमान् गुमाएकी २६ वर्षीया उनलाई सेवा गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाबाट निकालेको थियो ।
अस्पतालले सेवाबाट निकालेपछि सहकारीको मात्र होइन उनको ६ वर्षीय छोराको समेत गाँस काटिने अवस्था पुगेको छ ।
‘श्रीमान् गुमाएको पीडालाई समेत बिर्सेर कुनै प्रवाह नगरी निरन्तर सेवामा खटिएँ । सेवा गरेपछि अस्पतालले प्रोत्साहन गर्ला भन्ने आश गरेको थिएँ, तर आज सेवाबाट निकालिदिएको छ,’ हातमा राष्ट्रपति भण्डारीले दिएको विभूषण देखाउँदै सहकारीले भनिन्, ‘यतिबेला मेरो जीवनमा विभूषणभन्दा जागिर महत्त्वपूर्ण छ ।’
आफ्नो गुमेको जागिर फिर्ता गरिदिन सम्बन्धित निकायमा पटक–पटक आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको दुःखेसोसमेत उनले व्यक्त गरेकी छन् ।
यसैबीच उनले विभूषण ग्रहण सकिएलगत्तै राष्ट्रपति कार्यालयका सूचना विज्ञ माधव शर्मामार्फत राष्ट्रपति भण्डारी समक्ष एक पत्र समेत दिएकी छन् । पत्रमा उनले आफ्नो योग्यताअनुसारको जागिर उपलब्ध गराई दिएको खण्डमा आफ्नो र छोराको जीवनयापन सहज हुने उल्लेख गरेकी छन् ।