०८ साउन २०८३, शुक्रबार
संस्मरण

भौंतारिँदै हिँडेको गोपाल कहाँ पुग्यो होला ?

बैशाख ३, २०७९
भौंतारिँदै हिँडेको गोपाल कहाँ पुग्यो होला ?

दशैं मान्नासाथ सुटुक्क हिँडेको गोपाल सोही दिन साँझ मामा घर पुग्यो । मामाको घर पुग्न छिटो हिँडे १ दिन र ढिलो हिँडे डेढ दिन लाग्थ्यो । 

पढ्ने उद्देश्यले मामा घर त पुग्यो तर त्यहाँ पनि त्यस्तो वातावरण पाएन । कारण त्यहाँ पनि नजिक स्कूल थिएन ।

मामाको बाध्यता आफ्नै, खर्च सामल हालेर पढ्न राखिदिने शक्ति थिएन । १५ दिनजति मामाका छोराहरूका साथमा गाईबाख्रा चराएर बस्यो । कहिले गोठालो जान्थ्यो, कहिले घाँस दाउरा त कहिले घरकै अन्य काम सघाउने गथ्र्यो । 

१ दिन बिहान खाना खाएर के बसेको थियो अचानक भाउन्न छुटेर आयो । उसको मनले भन्यो, यसरी बसेर हुँदैन तर जाने कहाँ थाहा थिएन । तैपनि मसक्क आँटेर उठ्यो र ‘मामा ! हिँडे है’ भन्दै बाटो लाग्यो ।

मामाले राम्ररी ‘कता भान्जा ?’ भन्न पनि भ्याएका थिएनन्, उसले आँगनको डिल काटिसकेको थियो । मामा घरमाथि डाँडामा एउटा ठूलो चौतारो थियो, जहाँबाट हालको गण्डकी प्रदेशमा पर्ने प्रायः सबै हिमाल देखिन्थे । एकछिन सुस्ताउने विचार गरी चौतारोमा बसेर तिनै हिमाल र आसपासका पहाडी दृश्यमा आँखा लगायो ।

हेर्दाहेर्दै मनमा कताकता गोरखा तान्द्राङ भन्ने स्थानको सम्झना आयो । उसले तान्द्राङमा हाईस्कूल छ भन्ने सुनेको थियो । हेडमास्टर वनारसबाट आचार्य पास गरी आएका भान्दाइ नाता पर्ने राजु खनाल छन् भन्ने पनि सुनेको थियो, बुवा हरिदासबाट अघि कुनै बेला । त्यसपछि उसको मनले त्यतै जाउँ भन्यो र २ दिन हिँडेर पुग्यो पनि तर त्यहाँ पनि भने जस्तो भएन । 

भर्खर लागू भएको नयाँ शिक्षाका कारण हाईस्कूल खारेजीमा परेको रहेछ । भान्दाइ राजु खनाल आरुघाट भीमोदय हाईस्कूलमा सरुवा भएका रहेछन् । 

भान्दाइ बिहान ८ बजे खाना खाएर हिँड्थे, साँझ ७ बजेतिर घर पुग्थे । न उनको साथमा बसेर पढ्ने अवसर मिल्थ्यो, न न आरुघाट झरेर पढ्न सकिने अवस्था थियो । केही दिन त्यतै हल्लिएर करीब डेढ महिनापछि घर फक्र्यो । घरमा बुवा हरिदास रगतमासीले नराम्ररी थलिएका रहेछन् । दशैंमा घरमै पालेको मोटो खसीको मासु खाएपछि शुरू भएको रगतमासी अझै ठीक भएको रहेनछ । त्यतिबेला गाउँमा अस्पताल पुगेको थिएन । बिरामी पर्दा गाउँघरकै जडीबुटीमा भर पर्नुपथ्र्यो । साह्रै भए मात्र कविराज, वैद्यको खोजी हुन्थ्यो । 

कविराज, वैद्य कहाँ लगिदिने मानिस थिएनन् । मानिस खोजेर जाने उनको आफ्नै हैसियत थिएन । आमा र भाइबहिनीले जडिबुटीको रस खुवाएका त रहेछन् तर छोएको रहेनछ । बुवाको हालत देख्नासाथ नरमाइलो मान्दै जडिबुटी खोज्न जंगलतिर लाग्यो । गाउँले जडीबुटीबारे राम्रै जानकार थियो ऊ । पहिले पनि बुवालार्ई पखाला लागेको बेला उसले नै भट्टेको जरा, कोइरालाको बोक्रा र अम्माको पात पिसेर खुवाउने गरेको थियो ।

यस्तैमा एकपटक उसले कोइरालाको बोक्रा ताछ्न खोज्दा खुर्पाले आफ्नै घुडा छप्काएको थियो । त्यसले बनाएको खत उसको घुँडामा ताजै थियो । त्यसमाथि यसैका कारण झण्डै १ महिना थलिन परेको कुरा किन बिर्सन्थ्यो र ? जे होस् उसले जंगलबाट जडीबुटी ल्याएर बुवालाई खुवायो, जसले रोग ठीक पारेको भए पनि रगतमासीले गलेकाले कमजोरी भने पछिसम्म पनि कायमै थियो ।

बुवा हरिदास ठीक भएपछि गोपालले पुनः घर छाड्ने विचार गर्‍यो तर भइदियो के भने त्यति नै बेला बुवाले बसाइ सर्ने कुरा निकाले । कारण के परेको थियो भने हरिदासलाई सो स्थान साँघुरो भइसकेको थियो । एक त गरीब थिए, जग्गाजमिन खासै थिएन । दोस्रो कुरा भएको जमिनमध्ये पनि लेकको बारी बेचेर चितवनमा हालिसकेका थिए । साथमा भएको घरबारी र २ सुर्को खेतको उब्जनीले धान्नै छाडिसकेको थियो । त्यसैले करीब २ कोस परको पखेरो बारी किन्ने निधो गरेका थिए उनले । 

जग्गा सुक्खा पखेरो भए पनि खनीखोस्री खान पुग्ने खालको थियो । मकै, कोदोबाहेक मास, भटमास, बोडी, बदाम प्रशस्तै फल्थे । यही लोभमा हरिदासले बसेको स्थान बेचेर जग्गा किन्न खोजेका हुन् । सायद त्यसै भएर हुनुपर्छ आमा जमुनाले पनि स्वीकृति दिएकी थिइन् । बुवाआमाको कुरा गोपाललाई पनि ठीकै लाग्यो र घर छाड्ने विचार थाती राखी बसाइ सर्ने काममा सघाउन थाल्यो । 

खाडीबाट निकालेको मल गह्रौं हुने भएकाले टाढा ओसार्न गाह्रो पथ्र्यो । यस्तो अवस्थामा पहिले मललार्ई सुकाउने चलन थियो त्यतातिर । लेकको बारीमा मल पुर्‍याउन हरिदासले पनि त्यस्तै गर्ने गरेका थिए । अहिले पनि त्यस्तै गर्न लागे हरिदास । यस काममा गोपालले पनि राम्रै सघायो । बसाइ सर्ने भन्ने कुरा भन्न जति सजिलो, गर्न त्यति नै गाह्रो रहेछ । घरका मालसामान बोक्नैपर्‍यो, मलखाद ओसार्नै पर्‍यो । अन्नपात, भाँडावर्तन, दाउरा, फर्निचर भइहाले । यसैका लागि नै झण्डै २ महिना लाग्यो । 

बसाइ सर्ने काम राम्ररी सकिन पनि भ्याइएको थिएन वर्षाले छोपिहाल्यो, जसले गर्दा त्यो साल गोपालले घरबाट निस्कन पाएन । खेतीपातीमा लागेर असार र साउन बितायो । हेर्दाहेर्दै भदौ पनि आयो । आखिर समय न हो किन रोकिन्थ्यो र ? कसैले काम भ्याएको छैन भनेर रोकिन थाल्यो भने संसारै चल्दैन । संसार देखाउने पनि समयले हो, बनाउने र बिगार्ने पनि समयले नै हो । उसले एकैसाथ धेरै काम गर्नुपर्ने हुन्छ । त्यसैले चाहेर पनि रोकिन पाउँदैन ।

गाउँघरमा भदौ लागेपछि खेत गोड्ने काम शुरू हुन्छ । गोपाल पनि बुवा र भाइबहिनीका साथमा खेत गोड्न जान्थ्यो तर मन भने त्यहाँ हुँदैनथ्यो । यताउता भड्किरहन्थ्यो । कहिले यता कहिले उता । १ दिन साँझ खाना खाएर सुतेको निद्रै परेन उसलाई । पूरा रात कोल्टे फेर्दैमा बित्यो । मानसिक ज्वारभाटाले यति सतायो कि एकैछिन पनि निदाउन पाएन । 

बिहान उज्यालो हुने बेलासम्म उसको बेचैनीको डिग्री बढेर धान्नै नसक्ने भइसकेको थियो । यही बेसुरापनले झिसमिसेमै कसैले थाहा नपाउने गरी पुनः घर छाड्न बाध्य पार्‍यो उसलाई । त्यसपछि कता पुग्यो अहिलेसम्म थाहा पाउन सकिएको छैन ।

कहाँ होला त्यो ?

चितवनलाई चटक्कै छाडेर गएको गोपाल कहाँ होला ?

salt training

कमेन्ट गर्नुहोस्