२२ असार २०८३, सोमबार
उद्यम

मामाभान्जाको उदाहरणीय कर्म : विदेशको कमाइ विराटनगरको कृषिमा लगानी

बैशाख ३, २०७९
मामाभान्जाको उदाहरणीय कर्म : विदेशको कमाइ विराटनगरको कृषिमा लगानी

विराटनगर महानगरपालिका–१२ दरैयाका गजेन्द्र शर्मा बन्जारा र सञ्जय चापागाईं मामाभान्जा हुन् । गजेन्द्रले स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्यवस्थापन पढेर उतै जागिर पनि खाए ।

धेरै समय अमेरिका र युरोपमै बिताए । अहिले उनी चीनमा छन् । चीनको राजधानी बेइजिङमा रहेका २ ठूला होटल हिल्टन र कोन्ड्राइडमा जनरल म्यानेजर पदमा कार्यरत छन् ।

विदेशमा प्रतिष्ठित होटलको उच्च तहमा कार्यरत गजेन्द्र अरु देशको कमाइले मात्र खुशी भएनन्, आफ्नै ठाउँमा छुट्टै उद्यमीको पहिचान बनाउने योजना बनाएर उनले अहिले आफ्नै गाउँमा करोडौं लगानीमा कृषि फार्म शुरू गरेका छन् ।

गजेन्द्र मात्रै होइन, सञ्जय पनि होटल व्यवसायमै थिए । दुवै जना होटल व्यवसाय क्षेत्रमै जोडिएका छन् । यी मामाभान्जा बन्जारा एग्रो फार्म एन्ड इन्डस्ट्रिज खोलेर कृषि उद्यममा जोडिएका छन् । ९ करोडभन्दा बढी लगानी गरिसकेका छन् । ६८ वटा उन्नत जातका गाई फार्ममा छन् भने ५ बिगाहा क्षेत्रफलमा साग तरकारी लगाइएको छ ।

पढे–लेखेका युवाहरू विभिन्न कारण देखाएर विदेशतिर गइरहेका बेला विदेशमा जमेका मामाभान्जा स्वदेशतिर मोडिन थालेका छन् । मामाभान्जाले लगानी भित्र्याएपछि गाउँका दाजुभाइ, दिदीबहिनी पनि खुशी छन् । विदेशको कमाइ ल्याएर गाउँमा रोजगारी दिइरहेका मामाभान्जाको योजना छ – औद्योगिक शहर विराटनगरमा शुद्ध दूध उपलब्ध गराउने । 

‘विराटनगरलाई नै धान्ने गरी त पुर्‍याउन सकिँदैन,’ सञ्जयले भने, ‘भान्सामा काम गर्नेले दूध र तरकारी चाहिँ बन्जारा एग्रोको ल्याउनुहोस् भन्ने बनाउनु छ ।’

कृषि फार्म खोल्ने योजना मामा गजेन्द्रको हो । विदेशको आकर्षक कमाइमा रमाइरहेका गजेन्द्रले घरमा आएको समयमा कृषिको योजना भान्जालाई सुनाएका थिए । मामाको योजना सुन्दा शुरूमा डराएको सञ्जयले बताए । सञ्जय मामाको योजना सफल नहुनेमा ढुक्क थिए । उनी नेपालमै  होटल व्यवसायमा रमाइरहेका थिए । 

उनको काठमाडौंको होटल चले पनि विराटनगरको होटल खासै चलेको थिएन । माओवादी आन्दोलन तथा मधेश आन्दोलनका कारण बन्द–हड्ताल हुँदा होटल बन्द गर्नुपर्ने अवस्था बनेपछि उनले कृषि पेशा नै रोजे । मामा गजेन्द्र दशैंमा जहिल्यै घरमा आउँदा भान्जाले गरेको कृषि पेशा देखेर खुशी हुन्थे तर उनले भान्जालाई ठूलो क्षेत्रफलमा खेती गर्ने योजना सुनाए ।

लगानी धेरै लाग्ने भनेको सुनेपछि भान्जा डराएका थिए । खर्चको योजना सुनाएपछि उनी खेती गर्न तयार भएका थिए । 

३ चरणमा ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखेर शुरू गरिएको फार्मले स्वचालित प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी गरेको छ । यो प्रणालीमा जाँदा कम जनशक्तिमा धेरै काम गर्न सकिने बताइएको छ । गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम आधुनिक उपकरणबाट नै हुने गरेको छ ।

फार्ममा २५–४२ लिटरसम्म दूध दिने ६८ होलस्टेन जर्सी गाई छन् । फार्ममा दैनिक १ हजार २०० लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादन विराटनगरकै बजारमा खपत हुन्छ । 

फार्ममा १२ प्रजातिका अग्र्यानिक तरकारी फलाइन्छ । काक्रा, फर्सीदेखि टमाटर, भिन्डी लगायतका तरकारी उत्पादन भइहहेका सञ्जयले बताए । फार्ममा हालसम्म ९ करोड लगानी भइसकेको छ । विराटनगर महानगर भित्रैको ५ विघा जमिन किन्नै ६ करोड रूपैयाँ लगानी गर्नुपरेको उनले बताए । 

फार्ममा २५ जनाले दैनिक रोजगारी पाइरहेका सञ्जयले बताए । दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकलाई बिक्री गर्ने योजना समेत उनले बनाएका छन् ।

अग्र्यानिक गड्यौले मल उत्पादन गर्ने तयारीमा समेत लागेका छन् उनी । सन् २०२३ सम्म कूल लगानी ५० करोड पुर्‍याइने एग्रोको तयारी छ । हाइब्रिड बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउने लक्ष्य समेत लिएको उनले बताए ।

गाईको आहाराका लागि देवानगञ्जका किसानले ५० बिगाहा खेतमा लगाएको मकै किनेर ल्याएर साइलेज (गाईको आहारा) बनाउन दिने गरेका छन् । किसानले वर्षमा २ पटक मकै खेती गर्ने गरेका छन् । फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोबाइल मशिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईंले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्