
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी शीर्ष नेताहरूको बैठक बालुवाटारमा बोलाएका छन् ।
पार्टीका पूर्व पदाधिकारी, वर्तमान उपसभापति लगायतका शीर्ष नेताहरूलाई महानगर र उपमहानगरपालिकाको उम्मेदवार चयनबारे छलफल गर्न देउवाले बालुवाटार बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
बैठकमा देउवाले नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र धनराज गुरूङ लगायतका शीर्ष नेताहरूलाई बोलाएका छन् । त्यसबाहेक, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि देउवाले बैठकमा बोलाएका छन् । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।
सत्तारूढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लागेपछि राजनीतिक दलहरू उम्मेदवार छनौटमा केन्द्रीत भएका छन् ।
कांग्रेसको भागमा परेको तीन महानगरपालिका र ७ उपमहानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले छनौट गर्नेछ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु अघि देउवाले शीर्ष नेताहरूको बीचमा उम्मेदवारहरूका बीचमा अनौपचारिक छलफल गर्न लागेका छन् ।
‘उम्मेदवारको विषयमा शीर्ष तहमा सहमती बनाएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने तयारी छ । आज नेताहरूको बीचमा उम्मेदवारको बारे प्रारम्भिक सहमति बन्यो भने शुक्रबारको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने सम्भावना छ’, कांग्रेसका एक पदाधिकारीले भने ।