
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।
बिहीवार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका हुन्। उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए ।
मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनले बताए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे ।
उनले भने– ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ । एमालेलाई मात्रै, अरुलाई स्वागत गर्दैन ।'
उनले अहिले मधेशमा एमालेको लहर आएको बताए ।
अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।
प्रचण्ड, माधव नेपालहरूले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको उनले उल्लेख गरे ।
उनले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब यो गठबन्धन छ दलीय गठबन्धन बनेको बताए ।
उनले एमालेको सूर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरूको थुतुनो जलेको टिप्पणी गरे।
तत्कालिन नेकपामा प्रचण्डले आफुलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताए ।
उनले भने– ‘एमालेको सुर्य सिध्याउँछु भनेर कुदेकाहरूको थुतुनो आज डढिराखेको छ । एमालेको सूर्य सिध्याउँछु भनेर खान खोज्नेहरूको थुतुनो जलिराखेको छ । गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । १९ पृष्ठ लामो पार्टी अध्यक्षका विरुद्ध प्रधानमन्त्रीका विरुद्ध फौजदारी आरोपहरू सहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडी बढाइयो । यो ठुलो षड्यन्त्र थियो । त्यस अभियोग पत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्धा चलाएर थुन्ने योजना थियो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडी नेकपा(एमाले) संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने बताए ।