१८ असार २०८३, बिहीबार

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव-इन्जिनियरसमेत ७ जना उपर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीहरू विरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। 

बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षण गर्दा गुणस्तरहीन कार्य गरिएको भए पनि भुक्तानी दिएको भन्दै आरोपपत्र दर्ता गरिएको छ।

गुणस्तरहीन कार्यको पनि गलत नापी गरी वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्‍कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको देखिन आएको भन्दै मुद्दा दर्ता गरिएको हो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय  खेमराज विष्ट विरुद्ध ३१ लाख ३७ हजार ८५३ रुपैयाँ, देवराज जोशी विरुद्ध २५ लाख ५२ हजार ८८६ रुपैयाँ वोगो कायम गरी मुद्दा दर्ता गरिएको छ।

त्यसै गरी तत्कालीन इन्जियर पूर्ण कुँवर विरुद्ध ५६ लाख ९० हजार ७४० रुपैयाँ, सब-इन्जिनियर नरेन्द्र शाही विरुद्ध १२ लाख २४ हजार ४९५ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर विष्ट विरुद्ध ५३ लाख ५१ हजार २३४ रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ती मार्फत जनाएका छन्।

त्यसै गरी निर्माण व्यवसायी गणेश विष्ट विरुद्ध ५६ लाख ९० हजार ७४० रुपैयाँ विगो कायम गरिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्