
चन्द्रागिरी नगरपालिका– १५ मा रहेको क्यानरी वाइन एन्ड बेभेरेज प्रा.लि. बिक्रीको विषय विवादमा तानिएको छ ।
कम्पनी बेचबिखन र स्वामित्वका विषयमा सोमनाथ खनाल, जीतबहादुर माझी र मृत्युञ्जय जयसवालबीच विवाद देखिएको हो ।
‘उहाँहरूबाट मैले ६ करोडमा कोरोना महामारीअगाडि नै कम्पनी किनेको थिएँ । नगद र चेक गरेर मैले पहिलो किस्तामा पैसा दिएँ । बाँकी भएको पैसा केही दिनमा दिने शर्त भयो । मैले कम्पनी पुनः सुचारू गरेँ । तर पछि उहाँले कम्पनी बेच्दिनँ भन्नुभयो,’ जयसवालले भने ।
उनका अनुसार बन्द भएको कम्पनी पहिला ६ करोडमा किन्ने सहमति भएर सबै प्रक्रिया पूरा भई ३ करोड रुपैयाँ मात्र तिर्न बाँकी थियो । त्यो पैसा दिन १५ दिन ढिला भएपछि माझी र खनालले कम्पनी बिक्री नगर्ने भन्दै पैसा समेत फिर्ता दिन नमानेको जयसवालले बताए ।
उनीहरूले बदनियत राखेर विवाद झिकेको जयसवालको दाबी छ ।
खनाल र माझीले हतार–हतारमा कम्पनी रजिस्ट्रारबाट स्पष्ट मिति समेत उल्लेख नगरी आफ्नो नाममा कम्पनी फिर्ता गराएको देखिएको छ ।
उनीहरूले आफ्नो नाममा कम्पनी फिर्ता गर्दा २०७८ मात्र लेखिएको छ भने महिना र गते उल्लेख नै नगरिकन कम्पनी रजिस्ट्रारको कार्यालयले नामसारी गरिदिएको छ ।
८ करोडमा बिक्री गरेको कम्पनी पैसा दिन नसकेपछि आफूहरूले फिर्ता लिएको जीतबहादुर माझीले बताए ।
‘उहाँले पैसा दिन नसकेपछि हामीले कम्पनी फिर्ता लिएका हौं,’ माझीले लोकान्तरसँग भने, ‘हामीलाई ललिपप देखाउनुभयो, पैसा तिर्न सक्नुभएन ।’
जयसवाल पैसा तिर्न नसकेपछि भूमिगत रहेको र १४ वटा चेक बाउन्सका मुद्दा उच्च अदालतमा रहेको माझीले बताए ।