
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक असफल राष्ट्रतर्फ उन्मुख भएको दावी गरेका छन् ।
आर्थिक संकटका कारण नेपालको अवस्था कुनै पनि बेला श्रीलंका हुनसक्ने बताए । मुलुक वैदेशिक ऋणमा डुब्दै गएको त्यसलाई नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको दावी गरे ।
बुटवलमा बिहीवार आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संघीयताले मुलुक असफलतातर्फ गएको उल्लेख गरे ।
ठूला राजनीतिक दलहरू एमाले, कांग्रेस तथा माओवादी केन्द्रका कारण मुलुक अहिलेको निराशाजनक अवस्थामा आएको उल्लेख गर्दै अब राप्रपा रोज्न सबैलाई आग्रह गरे । संघीयताले मुलुक आर्थिक संकटमा पुगेको टिप्पणी गर्दै उनले ऋण लिएर भत्ता खाने गरी देश चलाएका कारण मुलुक ठूलो आर्थिक संकटमा परेको उल्लेख गरे ।
देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्रष्ट प्रवृत्ति महारोग भएको उल्लेख गरे । ५ वर्षका लागि म्यान्डेट पाएको सरकारबीचमा परिवर्तन हुने तथा विभिन्न समयमा भएका सत्ताको खेलले अहिलेको संघीय तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणित भएको लिङ्देनले उल्लेख गरे ।
मुलुकका संवैधानिक अंगहरूबीच नियन्त्रण र सन्तुलन गुमेको बताउँदै उनले मुलुक ठूलो दुर्घटनातर्फ बढिरहेको उल्लेख गरे । न्याय पालिका, कार्यपालिका र व्यवस्थापिका भित्र भएका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्रतिकुल देखिएको उनले बताए ।