
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्यांकअनुसार ९ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रूपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।
चालू आवको ९ महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । ९ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।
२८ प्रतिशतले बढ्यो व्यापार घाटा
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको ९ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।
चालू आवको ९ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस्तैगरी चालू आवको ९ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।
दुई खर्बको पेट्रोलियम पदार्थको आयात
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनाको तथ्यांकअनुसार नेपालले दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।
९ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्यांकअनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो ।
४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । ९ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।
१६२ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालू आवको पहिलो ९ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ ।
तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ९ महिनामा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।
नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ९ महिनामा दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख रूपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।