
राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्यूएचओले खोप वितरण गरेकामा डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरेका थिए ।
महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका बारेमा जानकारी गराएका थिए । महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए ।

उनले डब्ल्यूएचओले नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीवार नेपाल आएका महानिर्देशक डा. टेड्रोसले बिहीवार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।
महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीसमेत आएका छन् । उनी वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।