२९ असार २०८३, सोमबार

उम्मेदवार बन्न कांग्रेस परित्याग गर्दै पाल्हीनन्दन उपाध्यक्ष कोहाँर माओवादीमा प्रवेश

उम्मेदवार बन्न कांग्रेस परित्याग गर्दै पाल्हीनन्दन उपाध्यक्ष कोहाँर माओवादीमा प्रवेश

पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । 

उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि सिफारिस नगरेपछि माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।

कांग्रेसले उपाध्यक्ष पदको उमेदवारमा २ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहाँरले असन्तुष्टि जनाएकी थिइन् ।

‘अध्यक्षको उम्मेदवारमा १ जना र उपाध्यक्षमा कोहाँरबाहेक २ जनाको नाम सिफारिस गरिएको छ,’ नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ कार्यसमितिका अध्यक्ष हरिहर चौहानले भने । 

जिल्लाका २ पालिकामा मात्र गठबन्धन पार्टी मिलेर जानेबारे छलफल भएको छ । तर, त्यहाँ पनि सहमति जुटेको छैन । पाल्हीनन्दनसहित अन्य पालिकामा भने गठबन्धनदलहरू छुट्टाछुट्टै जाने गरी उम्मेदवार चयन गरिरहेका छन् ।

उक्त गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले जितेको हो ।  माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोहाँरले कांग्रेस छाडेको बताइएको छ । 

शुक्रवार एक कार्यक्रमको आयोजना गरेर कोहाँरलाई माओवादीका नेताहरूले पार्टी प्रवेश गराएका छन् । ‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन । पार्टीमा आए उपाध्यक्षमा उम्मेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ,’ उपाध्यक्ष कोहाँरले भनिन् ।

कमेन्ट गर्नुहोस्