
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आयोजित पार्टी कार्यालय स्थानान्तरण तथा ‘कम्युनिस्ट योद्धा सम्मान’ कार्यक्रममा उनले ज्येष्ठ नागरिक, युवा, किशोरकिशोरी र बालबालिका सबै एमालेप्रति आकर्षित भइरहेका बताए ।
देशभरमा नै पार्टी प्रवेशको लहर नै चलेको उनको भनाइ छ । उनले भने, ‘ज्येष्ठ नागरिकको आर्शिवाद एमालेसँग छ भने युवाको आशा र भरोसा छ ।’
देश र विदेशमा रहेका नेपालीको मनमा एमाले रहनु नै सफलता भएको पूर्व प्रधानमन्त्री ओलीले बताए । सरकारमा रहँदा गरेका कामभन्दा पनि सबैको मनमनमा एमाले छाउनु ठूलो सफलता भएको उनको भनाइ छ ।
सरकारमा पुग्नुभन्दा पनि सबै नेपालीको मुहारमा खुशी फैलाउनु एमालेको उद्देश्य भएको अध्यक्ष ओलीले बताए । उनका अनुसार पार्टीले कुनै पनि नेपालीको अनुहारमा गरीबीको धर्सा नदेखिने गरी आफ्ना पार्टीको उद्देश्य बनाएको छ ।
उनले भने, ‘पार्टीले अभाव हटेर सुखी र खुशी जनता देख्न चाहेको छ ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै स्थानीय तहले आर्थिक विकास र उत्पादनमा जोड दिएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीले बामपन्थी आन्दोलनमा योगदान पुर्याएका १७ जना योद्धालाई सम्मान गरेको छ ।