२८ जेठ २०८३, बिहीबार
जलपान

किन पिउने ‘डिटक्स वाटर’ ? स्वास्थ्यमा फाइदै–फाइदा

बैशाख १०, २०७९
किन पिउने ‘डिटक्स वाटर’ ? स्वास्थ्यमा फाइदै–फाइदा

पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पूरा रात राखी बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो । पटक–पटक पानी थपेर घटीमा ६ घण्टा पछाडि पिउनाले शरीरका अंग शुद्ध गर्न धेरै सहयोग पुग्छ ।

उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ । बिहानको खाजा खानुअगाडि डिटक्स वाटर २ गिलास पिउनु उत्तम हुन्छ । ठूलाठूला तारे होटलको ब्रेकफास्ट बोफेटमा दशैं लिटर यस्तो खालको डिटक्स पानी अनिवार्य रूपमा राखिदिएको हुन्छ । ग्राहकको इच्छाअनुसार एक गिलास या २ आफैंले डिस्पेन्सरबाट या जगबाट सारेर पिउने चलन छ । यो डिटक्स पानी घरमा पनि सजिलै बनाएर पिउन सकिन्छ ।

कसरी बनाउने डिटक्स वाटर ?

चाहिने सामग्रीः २ लिटर सफा जारको पानी, २ स्लाइस कागती, २ स्लाइस सुन्तला, जुनार, मौसम, भोगटे या मुन्तला, ३ स्लाइस काक्रो, ३ स्लाइस स्याउ, ताजा अदुवा २ स्लाइस, चुकन्दर २ स्लाइस, गाँजर २ स्लाइस, पुदिना २ मुन्टा, तुलसी २ ।

बनाउने विधिः पानीलाई सफा सिसाको बोतल, जग, जार या डिस्पेन्सरमा राख्ने । यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाँडोमा राख्न सकिन्छ । उल्लेखित सम्पूर्ण सामग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको भाँडोमा खन्याउने । बेलुका मिक्स गरेर बिहान खाली पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ । यी काटेका सामग्रीमा अधिकतम ३ पटकसम्म पानी मिसाएर पिउनु उत्तम मानिन्छ तर घटीमा पनि ३ घण्टा सामग्रीलाई डुबाइराख्नुपर्ने हुन्छ ।

डिटक्स पानी पिउँदा के फाइदा ?

नियमित रूपमा डिटक्स पानी पिउँदा स्वास्थ्य सम्बधी धेरै फाइदा पुग्ने विज्ञको ठहर छ र प्रमाणित पनि भएका छन् । ताजा फलफूल, तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पूर्ण रूपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरू पनि पुष्टि छन् । शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो । तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्‍याउँछ । खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्‍याउन सहयोग पुर्‍याउँछ । शरीरमा ताजगी जगाउनुका साथै हँसिलो फुर्तिलो बनाउँछ । इनर्जीले बल बढाइ शरीरको रूपरंग नै परिवर्तन गर्न मद्दत पुर्‍याउँछ । अनुहारको चमकमा परिवर्तन ल्याउँछ ।

salt training

कमेन्ट गर्नुहोस्