
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७(२) ले शनिवार आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व समेत गर्ने जिकिर गरे ।
‘आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्त्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ,’ उनले भने ।
बहुदल आएपछि काठमाडौं क्षेत्र नम्बर ७ को विकासले फड्को मारेको उनको भनाइ थियो ।
पार्टीका पूर्व महामन्त्री सिंहले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रह समेत गरे ।
नेता सिंहले संसद्मा झण्डै दुईतिहाइ जनमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर २ पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए ।