नेकपा एमालेले काठमाडौंको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
२०५४ को चुनाव जितेर मेयर भएका स्थापित अहिले एमालेको केन्द्रीय सदस्य छन् ।
२०७४ को चुनावमा पनि स्थापित काठमाडौंको मेयरको आकांक्षी थिए । तर, एमालेले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको थियो । स्थापितलाई भने बागमती प्रदेश सभा सदस्यको उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि चुनाव जितेका स्थापित बागमती प्रदेशमा भौतिक योजना तथा विकास मन्त्री भएका थिए । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलसँग अन्तरविरोध भएपछि स्थापितले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
२०५४ कै चुनावका बेला स्थापितको पक्षमा ८४ हजार मत आएको थियो । काठमाडौंको स्थानीय बासिन्दा स्थापित काठमाडौं महानगरको स्थानीय बीच घुलमिल र परिचित भएका व्यक्ति हुन् ।
काठमाडौं महानगरका लागि ‘हेवी वेट’का उम्मेदवार मानिएका स्थापितलाई एमालेले उम्मेदवारको रुपमा अघि सारेपछि अन्य राजनीतिक दललाई चुनावी प्रतिस्पर्धा कठिन हुने देखिएको छ ।
एमालेको महानगर कमिटीले ६ जनालाई मेयरको उम्मेदवारको रुपमा सिफारिस गरेको थियो ।
जसमा वर्तमान मेयर विद्यासुन्दर शाक्य, केन्द्रीय सदस्यहरु केशव स्थापित र रामवीर मानन्धर, नेताहरु निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस भएको थियो ।
यसैगरी यसअघि स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोललाई एमालेले उपमेयरको टिकट दिएको छ । उनी पूर्व मिस नेवाः समेत हुन् ।