
नेकपा एमालेले विभिन्न उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले धनगढीमा रणबहादुर चन्दलाई मेयर र चन्द्रकला रानाथारुलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई मेयर र शान्ति देवी ढकाललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय हुँदा तुल्सीपुरमा टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी घोराहीमा नोरुलाल चौधरीलाई मेयर र हुमाकुमारी बिसीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको बैठकपछि प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसैगरी बुटवलमा बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याललाई उपमेयरको उम्मेदवार बनाइएको छ भने हेटौँडा अनन्त पौडेललाई मेयर र सुमित्रा काफ्लेलाई उपमेरको उम्मेदवार बनाइएको छ।
यस्तै धरानमा मञ्जु भण्डारीलाई मेयर तथा पदम लिम्बुलाई उपमेयरको उम्मेदवार बनाइँदा इटहरीमा यमकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
यसैगरी कलैयामा बिनोद शाह मेयरको उम्मेदवार बनाइँदा उपमेयर टुंग्याउन बाँकी छ। त्यहाँ तालमेलको कुरा भएकाले उपमेयरको टुंगो नलाइएको छ । एमालेले उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म दुई उपमहानगर पालिकाको उम्मेदवार भने टुंग्याउन सकेको छैन ।
प्रचार विभाग प्रमुख गुरुङले जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको बताए ।