
नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार अनन्त पौडेललाई बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले पूर्वसंविधान सभा सदस्य समेत रहिसकेका पौडेललाई मेयरमा अगाडि सारेको हो ।
त्यस्तै उपमेयमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ । काफ्ले एमाले निकट अनेम संघको जिल्ला अध्यक्ष समेत हुन् । एमालेले उपमहानगरपालिकाको मेयर पदका लागि हालका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गरेको थियो । भने उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्रप्रसाद नेपालको नाम सिफारिस गरिएको थियो ।
२०७४ सालको स्थानीय चुनावलाई हेर्दा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लाल किल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीनाकुमारी लामाले उपमेयरमा जितेका थिए । त्यसैले पनि नेकपा एमाले आफ्नो विरासत जोगाउने दाउमा छ ।