
नेपाल कम्युनिस्ट पार्टी (एमाले )ले हेटौँडा उपमहानगर पालिका क्षेत्रका बासिन्दालाई आसन्न स्थानीय तह निर्वाचनमा आफू विजयी भएमा १० हजार लिटरसम्म खाने पानी निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा शुक्रबार हेटौँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमालेले हेटौँडा खानेपानी बोर्डमार्फत खानेपानी उपलब्ध गराइँदै आएका उपभोक्तालाई मासिक १० हजार लिटर खाने पानी निःशुल्क उपलब्ध गराउने जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा प्रतिबद्धतापत्र घोषणा तथा ज्येष्ठ कम्युनिस्ट सदस्य सम्मान कार्यक्रममा एमाले स्थानीय तहमा निर्वाचित भएपछि सबै पक्षलाई समेटेर रणनीतिक परामर्शका लागि हेटौँडा विकास परिषद् गठन गर्ने जानकारी गराइएको थियो ।
प्रतिबद्धतापत्रमा योजना निर्माण, अनुगमन र मूल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने , प्रदेश राजधानीको गुरु योजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने तथा नगर गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।