
नेकपा (एमाले) दाङले जिल्लाका दश वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगाएको छ ।
एमालेले घोराही उपमहानगरपालिकाका मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी अगाडि सारेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई उम्मेदवार बनाउने पार्टीको केन्द्रीय सचिवालयले शनिवार नै निर्णय गरेको थियो ।
दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । त्यसैगरी लमही नगरपालिकामा मेयरमा डण्डीराम चौधरी र उपमेयरमा सुशीला शर्मा उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि सावित्रा विश्वकर्मा उम्मेदवार बन्ने भएका छन् ।
दुवै जना अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । शान्तिनगर गाउँपालिकाको अध्यक्षको विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी अगाडि सारिएको छ ।
दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरी उम्मेदवार बन्ने भएका छन् ।
यस्तै गढवा गाउँपालिकामा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वती घर्ती उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाङले जानकारी दिएको छ ।