२४ जेठ २०८३, आइतबार
स्थानीय चुनाव

साना दल र स्वतन्त्र उम्मेदवारको मात्रै मनोनयन दर्ता, ठूला दललाई उम्मेदवार टुंग्याउनै सकस

बैशाख ११, २०७९
साना दल र स्वतन्त्र उम्मेदवारको मात्रै मनोनयन दर्ता, ठूला दललाई उम्मेदवार टुंग्याउनै सकस

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ताको पहिलो दिन आइतवार ठूला राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएनन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । 

आइतवार केही साना दलहरू र स्वतन्त्र उम्मेदवारले स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी

काठमाडौं महानगरपालिकाको मेयरको लागि विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले उम्मेदवारी दर्ता गरेकी छन् । उनले काठमाडौं वैकल्पिक राजनीतिकको केन्द्र बनिरहेको र मतदातालाई राजनीतिक विकल्प दिनको लागि उम्मेदवारी दर्ता गरेको बास्कोटाले बताइन् । विवेकशील पार्टीकै अर्की नेतृ कीर्ति तुलाधरले काठमाडौंको उपमेयरमा उम्मेदवारी दर्ता गरेकी छन् ।  

त्यसैगरी,  राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट काठमाडौंको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् । ३७ वर्ष उमेरका उनी काठमाडौंका व्यवसायी हुन् ।

स्वतन्त्र उम्मेदवारको रूपमा राजन कार्कीले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । ४० वर्षीय कार्की पनि काठमाडौंका व्यवसायी हुन् ।

त्यस्तै रविकान्त मानन्धरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ८४ वर्षीय मानन्धरले जनताको सेवाको लागि मेयर पदमा उम्मेदवारी दर्ता गरेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का स्थानीय उनी पर्यटक पथ प्रदर्शकको पृष्ठभूमिबाट आएका हुन् ।  

काठमाडौंकै हार्डवेयर व्यवसायी अम्बरबहादुर खत्रीले पनि काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । ४१ वर्षका खत्रीले स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दर्ता गरेका हुन् । 

त्यसैगरी, र्‍यापर बालेन्द्र शाहले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीको तर्फबाट रामबहादुर खड्काले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध रहेकी सीता तामाङले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

मौलिक जरोकिलो पार्टीको तर्फबाट मनोजराज आचार्यले काठमाडौं महानगरको मेयरको उम्मेदवारी दर्ता गरेका छन् ।  

समाजसेवी ज्ञानु लामा तामाङले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी हुन् ।  

उपत्यका सडक विस्तारपीडित संघर्ष समितिका संयोजक रहेका सुमन सायमीले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । उनले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उम्मेदवारी दिएका हुन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर १५ निवासी अमोट महर्जनले स्वतन्त्र उम्मेदवारको रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । 

त्यसैगरी, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनले स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएको काठमाडौं महानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जरा क्षेत्रीले काठमाडौं महानगरको उपमेयरका उम्मेदवारी दर्ता गरेका छन् ।

यता ललितपुरको मेयरमा भने ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

ठूला दलले टुङ्ग्याउन सकेनन् उम्मेदवार

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको दिन आइसक्दा पनि ठूला राजनीतिक दलहरूले भने महानगर र उपमहानगरकै उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । विशेषगरी, नेपाली कांग्रेसमा उम्मेदवार तय गर्न सकस परेको छ । 

सत्तारूढ गठबन्धनमा स्थानीय तह भागबण्डा गरेको कांग्रेसले ३ वटा महानगर र ७ उपमहानगरको नेतृत्व पाएको छ । तर, अहिलेसम्म पार्टीको तर्फबाट उम्मेदवार तय गर्न सकेको छैन ।

उम्मेदवार तय गर्न कांग्रेस शीर्ष नेताहरू पटकपटक छलफलमा बसेको भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् । आकांक्षी धेरै र गठबन्धनमा सिट भागबण्डा गर्नुपरेका कारण उम्मेदवार छान्न कांग्रेसलाई सकस परेको छ । 

कांग्रेस अन्तिम समयमा आएर टिकट वितरणको लागि केन्द्रीय संसदीय बोर्ड गठन गरेर उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । सोमवारसम्म उम्मेदवार फाइनल गरेर उम्मेदवारी दर्ता गर्ने कांग्रेसको तयारी छ । 

नेकपा एमालेले धेरैजसो ठाउँमा उम्मेदवारी टुंगो लगाएको भए पनि आइतवार उम्मेदवारी दर्ता गरेको छैन । एमालेले देशभर वैशाख १२ मा उम्मेदवारी दर्ताको तयारी गरेको छ । तर, केही उपमहानगरमा भने एमालेलाई पनि उम्मेदवारी तय गर्न सकस परेको छ ।

माओवादी केन्द्रले गठबन्धनलाई मुख्य प्राथमिकता दिएको छ । आइतवार दिनभर विभिन्न गठबन्धनका लागि विभिन्न पार्टीसँग छलफल गर्ने र सोमवार उम्मेदवार तय गरेर उम्मेदवारी दर्ता गर्ने नीति माओवादी केन्द्रको नेतृत्वले बनाएको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीले भने हेटौंडा उपमहानगरपालिकामा मात्रै उम्मेदवारी दर्ता गरेको छ । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार रोमनाथ भूर्तेलले उम्मेदवारी दर्ता गरेका छन् ।

भूर्तेलको उम्मेदवारीमा केदारनाथ दुलालले प्रस्ताव गरेका छन् भने देवनाथ अधिकारीले समर्थन गरेका छन् । 

उता महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निवर्तमान मेयर रामशंकर मिश्रले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उनी साविकमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा निर्वाचित भएका थिए । पुनः दोहोर्‍याएर  उनले लोसपाबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा आइतवार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता गराउन हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । फागुन १९ गते नै  उनले धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए । 

मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘जनताले गठबन्धन गरेकै छैनन्,’ उनले भने, ‘गठबन्धन नेताहरूले गरेका हुन् । गठबन्धन समाज बनाउनका लागि होइन । बाँडीचुँडी खानका लागि हो । त्यसका विरुद्ध मेरो उम्मेदवारी हो । धनगढीका जनताले राखेको चाहनाको प्रतिनिधि पात्र म हुँ ।’

सम्मानजनक रुपमा टिकट वितरण नभएको भन्दै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ । 

बुटवलस्थित निर्वाचन कार्यालयमा मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन् । 

योसँगै बुटवलमा सत्तारुढ गठबन्धन भत्किएको छ । पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले आफूहरूको अस्तित्व स्वीकार नगरेपछि पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेको बताए । 

मनोनयन दर्ताको पहिलो दिन आइतवार मेयर र उपमेयरको मनोनयन गरेको बताउँदै सोमवार १९ वटै वडामा मनोनयन दर्ता गर्ने बुटवल नगर इन्चार्ज नारायण नागिलाले बताए ।

टिकट नपाएपछि राजीनामा फिर्ता

सिरहा नगरपालिकाको मेयरमा टिकट सुनिश्चित नभएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् ।

मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट पक्का नभएपछि फिर्ता लिएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सांसद रहेका यादव अहिले प्रदेश सरकारमा मन्त्री छन् । ‘साथीभाइहरूको समन्वयमा मेयरको टिकट पाउने सुनिश्चित नभएपछि दिएको राजीनामा मैले फिर्ता लिएको हो,’ यादवले भने, ‘सिरहा नगरपालिकामा सत्ता पक्षीय गठबन्धन गरेर नेकपा एसलाई नै मेयर पद दिने भन्ने मौखिक सहमति भए पनि व्यवहारमा नमान्दा मैले आफ्नो राजीनामा फिर्ता लिएको हो ।’ 

यादव नेकपा एसका सिरहा जिल्ला अध्यक्ष पनि हुन् । ‘मैले राजीनामाका लागि अस्ति प्रदेश सभा सचिवालयमा निवेदन दिएको थिएँ, तर दर्ता पनि नभएको हुनाले राजीनामा फिर्ता लिन सहज भएको हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्