०६ असार २०८३, शनिबार

दस हजारभन्दा बढीको उम्मेदवारी दर्ता

बैशाख १२, २०७९
दस हजारभन्दा बढीको उम्मेदवारी दर्ता

 स्थानीय तह निर्वाचन, २०७९ मा मनोनयन दर्ताको पहिलो दिन देशभरि दस हजार ५३३ जनाले मनोनयन  दर्ता  गराएका  छन्  ।

निर्वाचन  आयोगले  पहिलो दिन दर्ता भएको सङ्ख्या 'साङ्केतिक’ मात्रै भएको टिप्पणी गरेको छ ।

निर्वाचन   आयोगका   प्रवक्ता   शालिग्राम   शर्मा  पौडेलले  ७५३  स्थानीय  तहमा  नै  निर्वाचन  अधिकृतको  कार्यालयमार्फत  मनोनयन  दर्ता  सुरु  भएको  बताए ।

 उम्मेदवारी  दर्ता  भएकामा  ठूलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवार छन् । आइतबार अबेरसम्म  सत्तारूढ  गठबन्धन  र  अन्य  दलले  उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहँदा मनोनयन दर्ता गराउनेमा बढी स्वतन्त्र उम्मेदवार छन् ।

एकै  दिन  मनोनयन  दर्ता  राख्दा  निर्वाचन  तालिका  प्रभावित  हुने  हुनाले  दलहरूकै  सुझावमा  आयोगले वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता गर्न लागेको हो तर आयोगको अपेक्षाविपरीत दर्ताको अन्तिम दिन सोमबार उम्मेदवारको चाप बढ्ने देखिएको छ ।  

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार उम्मेदवारी दर्ता गराएकोमा सात हजार  २७  पुरुष  र  तीन  हजार  ५०६  जना  महिला  छन् । आयोगले अध्यक्ष/प्रमुख पदका लागि मनोनयन दर्ताको पहिलो दिन ९८७ जनाको उम्मेदवारी परेको जनाएको छ । जसमध्ये ९१० पुरुष र ७७ जना महिला तथा अन्य समूहबाट उम्मेदवारी परेको छ । उपप्रमुख पदका लागि ५०८ जनाको उम्मेदवारी परेको छ ।

उपप्रमुखमा अधिकांश महिला छन् । उपप्रमुख पदमा ११३ पुरुष र ३९५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि तीन हजार १९० जनाको उम्मेदवारी परेको छ । जसमध्ये दुई हजार ८१४ पुरुष र १०७ जना महिला छन् ।  वडासदस्यका लागि उम्मेदवारी दर्ताको पहिलो दिन छ हजार ११७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

खुला सदस्यमा तीन हजार १९० पुरुष र १४८ महिला गरी तीन हजार ३३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महिला वडासदस्यमा  एक  हजार  ५७६  र  दलित  महिला  सदस्यमा एक हजार २०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्