२९ जेठ २०८३, शुक्रबार

माओवादी गठबन्धनबाट बाहिरिएपछि नेपालगञ्जमा अन्यौल

बैशाख १२, २०७९
माओवादी गठबन्धनबाट बाहिरिएपछि नेपालगञ्जमा अन्यौल

नेकपा   माओवादी   केन्द्रले   नेपालगञ्ज  उपमहानगरपालिकामा  अन्यायपूर्ण   तरिकाले   गठबन्धन   गरिएको जनाउँदै गठबन्धनमा नबस्ने निर्णयसहित एक्लै निर्वाचनमा जाने घोषणा  गरेपछि  अन्योल  उत्पन्न  भएको  छ  ।  

सत्ता  गठबन्धनबाट  माओवादी  केन्द्रले  नेपालगञ्जमा  प्रमुख र उपप्रमुख दुवै नपाएपछि धेरै वडा पाउने अडान राखेकोमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले धेरै  वडा  पनि  छोड्न  नमानेपछि  माओवादीले गठबन्धनबाट बाहिरिने निर्णय  गरेको  दलका  नेपालगञ्ज  अध्यक्ष रतन शाहीले बताए ।

सोही  कारणले माओवादी केन्द्र नेपालगञ्जले प्रमुख र उपप्रमुखलगायत सबै वडाध्यक्षमा उम्मेदवारी  दिएर  एक्लै  निर्वाचन  लड्ने निर्णय गरेको अध्यक्ष शाहीले बताए ।  

सत्ता  गठबन्धनको  केन्द्रीय निर्णयअनुसार नेपालगञ्जमा नेपाली  काँग्रेसलाई  प्रमुख  र  जनता  समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको थियो ।

सो सहमति भएलगत्तै प्रमुख मागिरहेको जसपाले पनि  कडा  विरोध  जनाएको  थियो  भने माओवादी केन्द्रले पनि अन्याय गरिएको प्रतिक्रिया दिँदै चर्को विरोध गरेको थियो । तर,  पछि  केन्द्रीय  नेता  र  स्थानीय  कार्यकर्ताको  दबाबले  गर्दा  जसपाले  उपप्रमुखमै  चित्त  बुझाएको  थियो ।

नेपालगञ्जका २३ वटा वडामा भागबन्डा गर्न माओवादीले छलफल गर्दा  काँग्रेस  र  जसपाले  अधिकांश  वडा  छोड्न  नमानेपछि  गठबन्धनमा  बस्नुको  औचित्य  नरहेको  जनाउँदै  गठबन्धनबाट   बाहिरिएर   एक्लै   निर्वाचनमा   जाने   घोषणा   गरेको   माओवादी केन्द्र नेपालगञ्जले जनाएको छ ।

जसपा र नेपाली काँग्रेसले पनि सबै वडामा उम्मेदवारी दिने निर्णय गरेको छ ।  माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने निर्णय गरेपछि गठबन्धनको अवस्था  के  रहने  हो  भन्ने  बारेमा  अन्योल  उत्पन्न  भएको  छ  ।  बाँके  काँग्रेस   र   जसपाले   आ–आफ्नो   केन्द्रमार्फत माओवादीलाई गठबन्धन नछोड्न दबाब सिर्जना गराउने प्रयास गरिरहेको बुझिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्