
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी सैनिकहरूलाई विदेशमा तालिम दिइएको विषयमा बयान दिएर गलत काम गरेको पोल्यान्डका सैन्य जनरल वाल्डेमार स्क्रिपजाकले बताएका छन् ।
स्क्रिपजाक पोल्यान्डका रक्षामन्त्रीका सल्लाहकार हुन् ।
गत साता भारत भ्रमणका क्रममा जोनसनले पत्रकारहरूसँग कुरा गर्दै पोल्यान्डमा युक्रेनीहरूलाई एन्टी एयरक्राफ्ट डिफेन्ससम्बन्धी तालिम दिइरहेको र बेलायतमा सशस्त्र वाहन चलाउने तालिम पनि दिइरहेको बताएका थिए ।
इराक युद्धमा सहभागी रहेका स्क्रिपजाकले पोल्यान्डको पत्रिका फाक्टसँग कुरा गर्दै हामी विदेशी मिसनमा हुँदा राजनीतिकर्मीले हाम्रो योजना वा तालिमका विषयमा सार्वजनिक अभिव्यक्ति दिनु दुर्लभ हुन्थ्यो भने ।
जोनसनले रुसलाई सैन्य रहस्य चुहाएको भन्दै स्क्रिपजाकले टिप्पणी गरे, ‘तालिम सैन्य मामिला हो र यसलाई रहस्यमै राख्नुपर्छ । यस्ता कुरा बोल्नुअघि त्यो मान्छेले विचार गर्नुपर्छ ।’
पोल्यान्डको स्थलसेनाका पूर्व कमान्डर स्क्रिपजाकले जोनसनको व्यवहार अत्यन्तै गैरजिम्मेवार रहेको भन्दै यसले विनाशकारी परिणाम ल्याउने बताए ।