
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुंगो लगाएको छ ।
प्रदेश कमिटीको सुर्खेतमा आइतवार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका २ स्थानीय तहका प्रमुख/उपप्रमुखसहित ४ तथा हुम्लाका ७ स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुंगो लगाएको हो ।
एमालेले प्रमुख/उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुुगुका ८, कालीकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका ५ तहका प्रमुख/उपप्रमुख टुंगो लगाएको हो ।
हुम्लाका ७ स्थानीय तहका प्रमुख पद मात्र टुंग्याएको छ ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख छन् ।
प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको बताए । दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख/उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो । केन्द्रले पनि आइतवार राति नै ती पालिकाको टुंगो लगाएको छ ।
आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुंग्याएको छ ।
डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरको प्रमुख/उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन । कर्णालीअन्तर्गत सुर्खेतमा ९, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा ६, जाजरकोटमा ७, कालीकोटमा ९, जुम्लामा ८, मुगुमा ४, हुम्लामा ७ र डोल्पामा ७ स्थानीय तह छन् ।