
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुख मोहन चापागाईँ र उपप्रमुखमा जागेश्वरी चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।
उनीहरुले शक्ति प्रदर्शन सहित बाजागाजा गर्दै उम्मेदवारी दर्ता गरेका हुन् ।
मेयर पदमा उम्मेदवारी दर्ता पछि बोल्दै चापागाईंले समृद्ध तिलोत्तमाको नयाँ अध्याय शुरू गर्ने, उज्यालो अभियान बनाउने, शिक्षा, स्वास्थ्यमा अझ गुणस्तर कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

२०३० सालमा रूपन्देहीको तिलोत्तमा नगरपालिका- २ शंकरनगरमा जन्मिएका चापागाईँ दुर्गादत्त उच्च माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गरेका थिए।
चापागाईँ नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष, केन्द्रीय सदस्य भइसकेका छन्। त्यस्तै नेकपा एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष पनि भइसकेका छन्।
उपमेयरमा उम्मेदवारी दिएकी जागेश्वरीदेवी चौधरीले अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
उनले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।
