
साताको दोस्रो दिन (सोमवार) शेयर बजारमा करीब ३५ अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ३४.९५ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
परिसूचक १.४४ प्रतिशतले घट्दै सोमवार २ हजार २३८.०१ विन्दुमा झरेको हो ।
यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ परिसूचक ६.१९ अंकले घट्दै ४५४.६९ विन्दुमा झरेको छ ।
यस दिन २७ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६३ कम्पनीको भने घटेको छ । यस्तै ६ कम्पनीको शेयर मूल्य स्थीर देखिएको छ ।
कुल २ सय ३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
सोमवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य ८५८.६० रुपैयाँ पुगेको छ ।
यस दिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ । कम्पनीको प्रति कित्ता शेयर मूल्य ३५५ रुपैयाँ रहेको छ ।
कारोबार रकमका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४ सय २१ रुपैयाँ रहेको छ ।