२७ जेठ २०८३, बुधबार

निर्वाचनमा पत्रकार आचारसंहिता पालना गर्न आग्रह

बैशाख १२, २०७९
निर्वाचनमा पत्रकार आचारसंहिता पालना गर्न आग्रह

आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरेको छ ।

निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल हुने काम नगर्न समेत महासंघले आग्रह गरेको छ । 

‘महासंघले सधैं साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्त्वपूर्ण रहिआएको छ,’ महासंघद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक म्यासेन्जर, ट्विटर, यूट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।

सो व्यवस्थाको पालना गर्दै सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राख्न पनि महासंघले आग्रह गरेको छ । निर्वाचनका समयमा महासंघका सदस्यको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता तथा अनुगमन विभागले अनुगमन गरिरहेको छ ।

महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्